Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

काठमाडौं – रुसी नियन्त्रणमा रहेको युक्रेनी भूभागमा अवस्थित एउटा प्रमुख बाँध भत्किएपछि तल्लो तटीय क्षेत्रमा रहेका दशौँ हजार मानिसलाई उद्धार गरिँदै छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नोभा कखोभ्का बाँधमा रुसले क्षति पुर्‍याएको भन्दै त्यसबाट ८० वटा नगर र गाउँहरूमा बाढी आउन सक्ने बताएका छन् । ड्नीप्रो नदीमा तीव्र रूपमा पानीको बहाव बढिरहेको छ र त्यसले खेअर्सन सहरमा खतरनाक बाढीको जोखिम बढाएको बताइएको छ ।

रुसले आफ्नो नियन्त्रणमा रहेको उक्त बाँधमा क्षति पुर्‍याएको भन्ने आरोप अस्वीकार गरेको छ। उसले युक्रेनी गोलाबारीका कारण क्षति पुगेको जनाएको छ । भत्किएको बाँधको क्षेत्रबाट ठूलो परिमाणमा पानी बगिरहेको भिडिओ फुटेजमा देख्न सकिन्छ । कैयौँ नगरहरू डुबानमा परिसकेका छन् भने तल्लो तटीय क्षेत्रका मानिसहरू बस र रेल चढेर सुरक्षित ठाउँमा जान बाध्य छन् ।

झन्डै ४० हजार मानिसलाई उद्धार गर्नुपर्ने अवस्था रहेको एक सरकारी अधिकारीले युक्रेनी टेलिभिजनलाई बताएकी छन् । त्यसमा ड्नीप्रोको पश्चिममा अवस्थित युक्रेनी भूभागबाट १७ हजार र पूर्वमा अवस्थित रुसी नियन्त्रणका क्षेत्रबाट २५ हजार मानिसको उद्धार गर्नुपर्ने अवस्था छ । युक्रेनी आन्तरिक मामिला मन्त्रीले झन्डै एक हजार मानिसलाई उद्धार गरिएको र विभिन्न २४ वटा बस्तीमा बाढी पसेको बताएका छन् ।

कखोभ्का बाँध कहाँ छ र त्यो कति महत्त्वपूर्ण छ ?
कखोभ्का बाँध ड्नीप्रो नदीमा छ जहाँ जलविद्युत् ऊर्जा प्लान्ट (एचपीपी) पर्छ । युद्धको सुरुमा खेअर्सन आसपासको क्षेत्र कब्जा गर्दा रुसी फौजले त्यसलाई समेत नियन्त्रण गरेका थिए ।

तस्बिरहरूमा देखिएका प्रमाणका आधारमा बाँधको भित्तामा ठूलो अवरोध देखिन्छ । बाँध रहेकोभन्दा ५० किलोमिटरभन्दा कम दूरीमा तल्लो तटीय क्षेत्रमा खेअर्सन सहर पर्छ । अधिकारीहरूका अनुसार बाँध भत्किएको ठाउँबाट निस्कने पानीको भेलले कम्तीमा १६ हजार मानिसलाई जोखिममा पारेको छ । धेरै मानिसलाई अन्यत्र सारिएको छ ।

रुस नियन्त्रित युक्रेनी सहर नोभा कखोभ्कामा अहिले पानीको भेल पसेको रुसको सरकार नियन्त्रित समाचार संस्था तासले जनाएको छ । बाँधको माथिल्लो भागमा कखाभ्का जलाशय छ जसले जापोरिज्या परमाणु ऊर्जा केन्द्र (जुन अहिले रुसी नियन्त्रणमा छ) लाई चिसो पार्न पानी पठाउँछ । अहिले चिन्ता भनेको जीर्ण बाँधमार्फत् जलाशयबाट धेरै पानी निस्कँदा उक्त केन्द्र चिसो पार्न चाहिने पानी नबच्ने भन्ने हो ।

तर अन्तर्राष्ट्रिय आणविक ऊर्जा केन्द्रले त्यहाँको अवस्था नियन्त्रणमा नै रहेको र तत्कालै ‘परमाणु सुरक्षा जोखिम’ नरहेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घको परमाणु निगरानीकर्ता निकाय आईएईएले अवस्थाको निगरानी गरिरहेको जनाउँदै त्यहाँ तत्काल परमाणु सुरक्षाको जोखिम नरहेको जनाएको छ । कखोभ्का जलाशयले नदीमार्फत् क्राइमियामा मानव उपयोगितामा प्रयोग हुने पानी समेत उपलब्ध गराउँछ जुन समेत अब सुक्न सक्छ ।

युक्रेनको सरकारले रुसी फौजलाई बाँध ध्वस्त पारेको आरोप लगाएको छ । यद्यपि रुसले नियुक्त गरेका एक स्थानीय अधिकारीले बाँधमा ऊर्जा केन्द्रको माथिल्लो आधा भाग मात्र क्षति पुगेको जनाएका छन्। उनले त्यो बमबारीका कारण भएको बताएका छन् ।

युक्रेनसँग कतिवटा बाँध छन् ?
सोभियत सङ्घको समयमा इन्जिनियरहरूले ड्निप्रो नदीको युक्रेनतर्फ एकपछि अर्को गर्दै छ वटा बाँधहरू निर्माण गरेका थिए । जुन उसको बेलारुसदेखिको उसको सीमादेखि दक्षिणतर्फ समुद्रसम्ममा १ हजार ९५ किलोमिटरमा फैलिएको छ ।

जुन लहरमा कखोभ्का अन्तिम बाँध हो । बाँधहरूका बिचमा उनीहरूले नदिलाई कैयौँ जलाशयको स्वरूप दिँदै त्यहाँबाट घर तथा उद्योग र खेतहरूमा सिँचाइका लागि पानी पुर्‍याउने व्यवस्था गरेका छन् । ड्निप्रोका प्रत्येक जसो बाँधमा जलविद्युत् केन्द्रहरू छन् जसले बाँधका भित्तामा माथिल्लो भूभागबाट टर्बाइनहरू हुँदै जलप्रवाह गरिँदा ऊर्जा उत्पादन गर्छन् । देशभरि अन्य नदीहरूमा समेत जलविद्युत् उत्पादन गर्ने साना बाँध तथा जलाशयहरू छन् ।

यसअघि किन युक्रेनका बाँधमा हमलाहरू गरिए ?
सन् २०२२ को सेप्टेम्बरमा एउटा क्षेप्यास्त्र हमलाले दक्षिणी युक्रेनमा क्रिभइ री सहर नजिकै पर्ने कराचुनिभ्स्के जलाशयको बाँध ध्वस्त पारेको थियो । त्यसले व्यापक रूपमा बाढी निम्त्याएको थियो र कैयौँ मानिसलाई अन्यत्र जान भनिएको थियो ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले हमलाको दोष रुसलाई लगाउँदै त्यो युक्रेनी फौजहरूले सञ्चालन गरेको प्रत्याक्रमणको मस्कोले बदला लिएको बताएका छन् । उनले नागरिक निशानामा हमला गरेको भन्दै रुसलाई आतङ्कवादी राज्य भने ।

सन् २०२२ को अक्टोबरमा जापोरिज्याका जलविद्युत् बाँधमा क्षेप्यास्त्र हमला भएका थिए र ती सबैप्रति रुस जिम्मेवार भएको युक्रेनले आरोप लगाएको थियो । सन् २०२२ को डिसेम्बरमा र सन् २०२३ को फेब्रुअरीमा जापोरिज्या नजिकैको ड्निप्रो जलविद्युत् केन्द्रमा क्षेप्यास्त्र हमलाहरू भएका थिए । जसका लागि समेत युक्रेनले रुसलाई आरोप लगायो । ‘यो युक्रेनको ऊर्जा क्षमतालाई नष्ट गर्ने रुसी रणनीति अन्तर्गतको पाटो हो,’ किङ्ग्स कलेज लन्डनमा डिफेन्स स्टडिजका अध्ययनकर्ता डा. मार्टिन मिरोनले भने ।

यो ६,००० मेगावाटभन्दा धेरै ऊर्जा उत्पादन गर्ने जलविद्युत् केन्द्र हो । यी हमलासँगै झन्डै २,५०० मेगावाट क्षमता गुमेको छ । सन् २०२३ को मे महिनामा रुसी क्षेप्यास्त्र हमलाले पूर्वी युक्रेनमा डोनेत्स्क नजिकैको कार्लिभ्सकी जलाशय ध्वस्त भएको युक्रेनको सरकारले जनाएको छ । त्यसले भोच्च नदी आसपासमा पर्ने गाउँहरूमा बाढी निम्तिनुका साथै मानिसहरूलाई घरहरू छाड्न भनिएको थियो ।

विगतमा युक्रेनका बाँधमा भएका क्षतिले दुर्भाग्यपूर्ण अवस्था सिर्जना भएका छन् । सन् १९४१ को अगस्टमा जर्मनीको सेना अगाडी बढिरहँदा युक्रेनभरि सोभियत सेना पछाडि हटिरहेका थिए । सोभियत सेनाका कमान्डरहरूले आफ्ना शत्रुहरूलाई ड्निप्रो नदी पार गर्न रोक्नका लागि जापोरिज्याका पुलहरू र बाँध ध्वस्त पार्दै निर्णय गरेका थिए । जसको चेतावनी नागरिकहरूलाई दिइएको थिएन र इतिहासकारहरूका अनुमानमा त्यसबाट कम्तीमा ३,००० मानिसहरूको मृत्यु भएको थियो । -बीबीसी

तपाईको प्रतिक्रिया