समाचार सुन्नुहोस् :
काठमाडौं – कक्षा १० को नेपाली पाठ्यपुस्तकको पाठ्यक्रमबाट डा सन्दुक रुइतको जीवन हटाइएको विषयमा संसद्मा प्रश्न उठेको छ। मंगलबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले रुइतको जीवन हटाइएकोबारे प्रश्न उठाएका हुन्।
कक्षा १० को नेपाली पाठ्यापुस्तकमा रहेको ८ पृष्ठको जीवनी हटाएको भन्दै पन्तले आपत्ति जनाए। उनले भने, ‘कक्षा १० को नेपाली पाठयक्रममा डा सन्दुक रुइतको ८ पृष्ठको जीवनी पढाइन्थ्यो। त्यो पाठ्यपुस्तकबाट हटाइयो। डा रुइतको जीवनीका कारणले हाम्रो देशको इज्जत बढेको छ। त्यो जीवनी पढाउन आवश्यक छ भनेर राखिएको थियो। किन त्यसबाट जीवनी हटाइयो शिक्षामन्त्रीको जवाफ माग गर्दछु।’
त्यसैगरि उनले कालिकोटको पचालझरना गाउँपालिकाको स्थानीय पाठ्यक्रममा सशस्त्र द्वन्द्व र माओवादी जनयुद्धको बारेमा राखिएको भन्दै आपत्ती जनाए। उनले एमालेले झापा विद्रोहबारे, कांग्रेसले १८ सालको सशस्त्र संषर्घबारे, राप्रपाले पञ्चायत र राजतन्त्रबारे कोर्स बुकमा राख्न नहुने बताए।