समाचार सुन्नुहोस् :
काठमाडौँ – संसद भवनमा आजदेखि विद्युतीय हाजिरी सुरू गरिएको छ । संघीय संसद सचिवालयले सोमबार बिहानदेखि बैठकमा सहभागी हुने सांसदहरूलाई डिजिटल हाजिरी गराउन सुरू गरेको हो । गत फागुन ३ गते बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले संसदमा विद्युतीय हाजिरीको व्यवस्था गर्न माग गरेका थिए । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सांसदको बायोमेट्रिक हाजिरको व्यवस्था गर्नुपर्ने बताएका थिए । जनप्रतिनिधिले सदनमा जवाफदेही हुने गरी उपस्थिति हुने व्यवस्था गर्न र जनताले पनि आफ्नो जनप्रतिनिधि कहाँ छन् भन्ने कुरा राम्रोसँग हेर्न पाउनका लागि त्यो व्यवस्था गर्नुपर्ने उनको जोड थियो ।
वैशाख २४ को प्रतिनिधिसभा कार्य व्यवस्था तथा परामर्श समितिको बैठकमा सांसदहरूको ई-हाजिरी सुरू गर्नेबारे छलफल भएको थियो । उक्त दिन ई-हाजिरी सुरू गर्ने र सभाका सदस्यको उपस्थिति वेबसाइटमार्फत सार्वजनिक गर्नेबारे छलफल भएको हो ।सदनको महत्वपूर्ण छलफलमा समेत सांसदको नगण्य उपस्थिति हुनु थालेपछि विद्युतीय हाजिरीको कुरा उठेको थियो ।
बैठकमा सभामुखले देवराज घिमिरेले संसदमा सांसदको उपस्थिति कमजोर भएको, सांसद तलब भत्ता खानमात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ भएको, दल तथा सांसदलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण पनि गराएका थिए । संसद सचिवालयलाई ई-हाजिरीको तयारी गर्न निर्देशन पनि दिएका थिए ।