समाचार सुन्नुहोस् :
काठमाडौं – गत मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनका क्रममा डडेल्धुरामा कोठाभाडा लिएर बसेका स्वतन्त्र उम्मेदवार सागर ढकालले भाडा नतिरी फरार भएको पाइएको छ । डडेल्धुराको अमरगढी नगरपालिका–५ विद्युत् रोडमा कोठा भाडा लिएका ढकालले आठ महिनादेखिको भाडा नतिरेको घरधनी सीतादेवी भाटले गुनासो गरेकी छन् । कोठामा ताला लगाएर ढकाल सम्पर्कविहीन रहेको उनको भनाइ छ ।
प्रतिनिधिसभाको निर्वाचनमा ढकाल कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग पराजित भएका थिए । उनले आठ महिनादेखिको भाडा तिरेका छैनन् । सुरुमा तीन महिनाको भाडा तिरे पनि असोजयताको भाडा बुझाउन बाँकी रहेको बुझिएको छ । घरबेटीले धेरै फोन गरेको भन्दै ढकालले मोबाइल नै स्विच्ड अफ गरेका छन् । चाँडै भाडा नतिरे प्रहरीमा निवेदन दिने तयारीमा रहेको भाटले जानकारी दिएकी छन् । ढकाल दुई महिनादेखि साउथ सुडानमा रहेको बुझिएको छ ।