काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स प्लेअफमा पुगेको छ । गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई ३४ रनले हराउँदै गुजरात प्लेअफमा पुग्ने पहिलो टोली समेत बनेको छ । गुजरातको घरेलु मैदान अहमदाबादमा गुजरातले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५४ रन बनायो ।
उसका हेनरिच क्लासेनले सर्वाधिक ६४ रन बनाए । त्यस्तै भुवनेश्वर कुमारले २७ रन जोडे । हैदराबादका अरु खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।गुजरातका मोहम्मद शामी र मोहित शर्माले समान ४/४ विकेट लिए । यस दयालले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । उसका शुभमन गिलले १ सय १ रनको शतकीय पारी खेले । त्यस्तै साई सुदर्शनले ४७ रन जोडे ।
हैदराबादका भुवनेश्वर कुमारले ५ विकेट लिए । जितसँगै गुजरात १३ खेलमा १८ अङ्कका साथ शीर्ष स्थानमा कायमै छ । हैदराबाद १२ खेलमा आठ अङ्कका साथ तालिकाको नवौँ स्थानमा छ ।