Deneme Bonusu Veren Siteler
सोमबार, पौष २२, २०८१
Monday, January 6, 2025

काठमाडौं – गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि यहाँका किसानको ऊर्जा थपिएको छ । उनीहरू कफीखेतीमा थप आकर्षित हुन थालेका छन् । यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी संघमार्फत् निर्यात हुँदै आएको छ ।

संघका सचिव युवराज आचार्यका अनुसार जापान र फ्रान्समा मात्रै वार्षिक पाँच टन कफी निर्यात हुँदै आएको छ । किसान, समूह र सहकारीबाट खरिद गरिएको कफी प्रशोधन गरी संघले निर्यात गर्दै आएको छ । जसबाट संघले वार्षिक ६० लाख आम्दानी गर्दै आएको सचिव आचार्यको भनाइ छ ।

कफी विकास केन्द्र गुल्मीका प्रमुख जीवन आचार्यले कफीको बिउ स्रोत केन्द्रका रूपमा काम गरिरहेको बताए । कुल ६ हेक्टर क्षेत्रफलमा बीउका लागि कफी खेती गरिएको छ । अन्तरराष्ट्रिय स्तरमा निर्यात हुन थालेपछि कफीखेतीमा किसानको आकर्षण बढेको छ ।

रेसुङ्गा नगरपालिका-८ का २५ वर्षीय मनोज पाण्डे र २४ वर्षे सरोज बेल्बासे व्यावसायिक कफीखेतीमा लागेका छन् । आँपचौरको पिपलारुखमा दुई सय रोपनीमा डेढ वर्षदेखि कफीखेतीमा रमाएका उनीहरूले २० हजार कफीका बिरुवा रोपेका छन् ।

‘विदेशमा पसिना बगाउनुभन्दा स्वदेशमै मिहिनेत गरौं भन्ने सोचले कफीखेती सुरु गरेका हौं,’ बेल्बासेले भने । मनोज र सरोजले गरेको कफीखेतीबाट हाल एक हजार बिरुवाले उत्पादन दिइरहेका छन् । मनोजका अनुसार गत वर्ष यसबाट रू. ७ लाख आम्दानी भएको थियो ।

उनीहरूले हालसम्म कफीखेतीमा रू. ५१ लाख लगानी गरिसकेका छन् । कफीखेतीसँगै कफी प्रशोधन, प्याकेजिङ र बजारीकरणसमेत उनीहरूले आफैं गर्दै आएका छन् । उनीहरूले सिजनमा ३५ जना र अन्य समयमा दैनिक पाँच जनालाई रोजगारीसमेत दिएका छन् ।

उनीहरू मात्रै होइन आँपचौरका अधिकांश परिवार कफीखेती होमिएको छ । केहीले व्यावसायिक रूपमा त केहीले घरखर्चका लागि मात्रै पनि कफीखेती गरेका छन् ।

आँपचौरका किसान कपिला खरेलको कपिला कृषि तथा पशुपक्षी फर्म छ । फर्ममा व्यावसायिक रूपमा कफीखेतीसँगै केराखेती र कुखुरापालन पनि गरिएको छ । उनले रोपेका दुई सय कफीका बोट उत्पादन दिने अवस्थामा छन् । कफीखेती विस्तारका लागि उनी छहारी निर्माणमा लागेकी छन् ।

आँपचौरकै दुर्गा खरेलले पनि कफीखेतीलाई बगैंचाका रूपमा विस्तार गरेका छन् । उनले प्रत्येक वर्ष ४ क्विन्टलभन्दा बढी कफी बिक्री गर्दै आएका छन् । ‘कफी खेतीमा लगानी नडुब्ने भएकाले पनि युवाहरू आकर्षित भएका हुन्,’ उनले भने ।

गुल्मीको आँपचौर कफीको उद्गमस्थल हो । मुसिकोट नगरपालिका–५ आँपचौरबाटै नेपालमा कफीको विस्तार भएको मानिन्छ । आँपचौरका स्थानीय हिरा गिरीले १९९५ सालमा कर्मथलो बर्माको सिन्धु प्रान्तबाट फर्किंदा कफीको बीउ ल्याएर रोपेपछि पहिलो पटक नेपालमा कफी खेतीको शुरूआत भएको हो ।

कफीको सुरुआत भएको झण्डै तीन दशकसम्म पनि बिरुवा अन्योलमै थियो । त्यसपछि नेपाल सरकारले भारतबाट कफीको बीउ ल्याएर वितरण गरेपछि आँपचौरमा कफीको व्यावसायिक खेती शुरू भएको स्थानीय दुर्गा खरेलको भनाइ छ ।

तपाईको प्रतिक्रिया