शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – बितेको वर्ष ०७९ घरजग्गा (रियलस्टेट) व्यवसायका लागि त्यति सुखद रहन सकेन । कित्ताकाटमा कडाई, तरलता अभाव, चर्को ब्याजदरलगायत कारणले घरजग्गा कारोबार अत्यन्तै प्रभावित भयो ।

०७८ मा देशभर ६ लाख ९१ हजार २२७ घरजग्गा कारोबार भएकोमा ०७९ मा ४ लाख ६७ हजार ६४८ मात्रै कारोबार भए, जुन गत वर्षको तुलनामा ३४ प्रतिशतले कमी हो । देशैभर घरजग्गा कारोबारमा शिथिलता आएपछि काठमाडौं उपत्यकामा पनि किनबेच शिथिल बन्‍न पुग्यो ।

०७९ मा काठमाडौं उपत्यकाका तीन जिल्लामा रहेका नौ मालपोत कार्यालयबाट ५२ हजार २८३ मात्रै घरजग्गा किनबेच भएका छन् । गत वर्ष उपत्यकाका घरजग्गा बिक्री गर्नका लागि रियलस्टेटका अनलाइन प्लेटफर्ममा लिस्टिङ पनि बढेको थियो । हामी तपाईंहरुलाई गत वर्ष काठमाडौंको कुन ठाउँमा कति घरजग्गा बिक्री भए ? घरजग्गा कारोबारको हटस्पट कुन ठाउँ बन्यो ? र, कुन महिना कति घरजग्गा किनबेच भए ? भनेर जानकारी गराउन गइरहेका छौं ।

पछिल्ला वर्षमा उपत्यकाका भित्री शहरमा भन्दा काँठ क्षेत्रमा घरजग्गा किनबेच बढेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ । शहरभित्र बढ्दो महंगीसँगै खाली जग्गा पनि भेटिन छाडेपछि घरजग्गा कारोबारीहरु रिङरोडबाहिर केन्द्रित देखिन्छन् ।

विभागको तथ्यांकअनुसार ललितपुर, भक्तपुर, कलंकी र साँखु मालपोत कार्यालयबाट सबैभन्दा बढी घरजग्गा किनबेच भएको देखिन्छ । एक वर्षमा लगनखेल मालपोतबाट १२ हजार ३४५, भक्तपुर मालपोतबाट ११ हजार ७८८, कलंकी मालपोतबाट ९ हजार ९२, साँखु मालपोतबाट ६ हजार ७६४ घरजग्गा किनबेच भएका छन् ।

काठमाडौंको कोर सिटीको घरजग्गा किनबेच गराउने डिल्ली बजार मालपोत कार्यालयबाट एक वर्षमा दुई हजार ५१४ घरजग्गा किनबेच भएका छन् । खाली जग्गा उपलब्ध नहुनुका साथै चर्को मूल्यका कारण मुख्य शहरी क्षेत्रमा छिटपुट मात्रै घरजग्गा किनबेच हुने गरेको विभागको तथ्यांकले देखाउँछ ।

रिङरोड बाहिर पनि नजिकै खाली जग्गा भेटिन मुस्किल छ । करीव ५/७ किलोमिटर बाहिर निस्कँदा खाली जग्गा देखिन्छ । त्यो खाली जग्गामा कतै खेतिपाती गरिरहेको देखिन्छ भने कतै प्लटिङ गरिरहेको देखिन्छ । यतिसम्म कि, घरजग्गा कारोबारीले पछिल्लो समय उपत्यका वरिपरिका डाँडाकाँडा खोस्रिएर फुस्‍रै बनाएको देखिन्छ ।

व्यवसायीका अनुसार, ललितपुरको सानागाउँ, गोदामचौर, हरिसिद्धी, ठेँचो, गोदावरी, सन्तानेश्‍वर महादेव, ठैव, लामाटारलगायत क्षेत्रहरु ग्राहकको रोजाइमा पर्न थालेको छ । त्यस क्षेत्रमा जग्गाको किनबेच पनि ह्वात्तै बढेको स्थानीको भनाई छ । लगनखेल मालपोत कार्यालयको घरजग्गा किनबेच तथ्यांकले पनि त्यो पुष्‍टि गर्छ ।

यस्तै, रत्नपार्कबाट करीव १५/२० किलोमिटर दुरीमा रहेको थानकोट, नागढुंगा, दहचोक, मातातिर्थ, किर्तिपुर र दक्षिणकाली क्षेत्रमा पनि घरजग्गा किनबेच उछालिएको छ । काठमाडौं छिर्ने प्रवेशद्धार थानकोटमा घरजग्गा किनबेच तिब्र भइरहेको व्यवसायी बताउँछन् ।

कलंकी मालपोत कार्यालय उपत्यकामा सबैभन्दा धेरै घरजग्गा किनबेच गराउने मध्येमा पर्छ । गत वर्ष कलंकी मालपोतबाट मात्रै ९ हजार ९२ घरजग्गा किनबेच भएका छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा ६, ललितपुरमा २ र भक्तपुरमा १ मालपोत छन् । यो हिसावले हेर्दा कलंकी, थानकोट, किर्तिपुर, दक्षिणकाली क्षेत्र उपत्यकाभित्र सबैभन्दा धेरै घरजग्गा किनबेच हुने क्षेत्रमा पर्छ ।

पश्चिम क्षेत्रबाट काठमाडौं आएर यहीँ भविष्य खोजिरहेका मानिसहरुको रोजाईमा किर्तिपुर, थानकोट, दहचोक लगायत ठाउँहरु पर्छन । शहरभित्र जग्गाको मूल्य चर्किएपछि मध्यमबर्गको रोजाई ती ठाउँमा पुगेको हो । जग्गाको कारोबार बढ्दै गएपछि अहिले थानकोटमै प्रतिआना २०/३० लाखभन्दा कम मूल्यमा जग्गा पाउन मुस्किल भइसकेको छ ।

अरनिको राजमार्गले दुई भागमा छुट्याएको भक्तपुरको काँठ क्षेत्र पनि अहिले घरजग्गा किनबेचका हटस्पट बनेका छन् । सहज सडक पहुँच, स्तरीय विद्यालय र हस्पिटल लगायत सुविधाहरु बढ्न थालेका कारण पनि भक्तपुरमा घरजग्गा किन्नेहरु बढ्न थालेका हुन् । त्यसो त अझै पनि भक्तपुरको भित्री क्षेत्रमा तुलनात्मक रुपमा कम मूल्यमा जग्गा पाइने हुँदा पनि मध्यम बर्गको रोजाई भक्तपुरतर्फ देखिएको व्यवसायीको भनाई छ । अझ पछिल्लो समय भक्तपुरको पलाँसे, नलिनचोक लगायतका क्षेत्रमा ठूला प्लटिङका कारण जग्गा कारोबार नयाँ हटस्पट बनेको छ ।

गत वर्ष भक्तपुरबाट ११ हजार ७८८ घरजग्गा किनबेच भएका छन् । त्यसो त भक्तपुरको कुनाकुनासम्म पुग्दा पनि १५–२० लाखभन्दा कम मूल्यमा जग्गा भेट्याउन मुस्किल पर्छ । मध्यम बर्ग र घरजग्गा व्यवसायीको नजर भक्तपुरमा सोझिएपछि जग्गाको मूल्य पनि बढ्दै गएर चुलीमा पुगेको हो । अहिले भक्तपुरका भित्ताहरु पनि खोस्रिएर प्लटिङ गरेको देख्‍न सकिन्छ ।

काठमाडौंको उत्तर–पूर्वी भेग साँखुमा पनि घरजग्गा कारोबार गुल्जार बनिरहेको छ । मेलम्ची जोड्ने सडकसँग जोडिएको साँखु क्षेत्रमा कम मूल्यमा घडेरी खोज्‍नेहरु तानिन थालेका छन् । रत्नपार्कबाट झन्डै २५ किलोमिटर दुरीमा रहेको साँखु क्षेत्र अहिले घरजग्गा किनबेचको हटस्पट बनेको साँखु मालपोत कार्यालयको तथ्यांकले पनि देखाउँछ । एक वर्षमाा साँखु मालपोत कार्यालयबाट ६ हजार ७६४ घरजग्गा किनबेच भएका छन् ।

सबैभन्दा कम ललितपुरको गोटीखेल मालपोतबाट एक वर्षमा २२० घरजग्गा किनबेच भएका छन् । यस्तै, चाबाहिलबाट ५ हजार ६२९, मनमैंजुबाट दुई हजार ५ र टोखा मालपोतबाट १ हजार ९२६ घरजग्गा किनबेच भएको देखिन्छ । –नेपाल होम्सबाट

तपाईको प्रतिक्रिया