काठमाडौं – अमेरिकाको चर्चित मिडिया फक्सन्युजले आफूविरूद्धको मानहानि मुद्दा मिलाउन ७८७ मिलियन डलर तिर्न तयार भएको छ ।
सीएनएनका अनुसार दुई वर्षदेखिको कानुनी लडाइँलाई फक्सन्यूजले मानहानि तिरेर अन्त्य गर्ने प्रस्ताव गरेसँगै यो चर्चित मुद्दा टुङ्गिएको छ । अमेरिकी इतिहासमा कुनै पनि मिडियाले आफूविरुद्धको मानहानि मुद्दामा यति ठुलो रकम तिरेको यो पहिलो पटक हो ।
सन् २०२० को राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई धाँधली गरेर हराइएको र त्यसमा विद्युतीय मतदान गर्ने मेसिन बनाउने कम्पनी डोमिनियनको संलग्नता भएको भन्दै फक्सन्युजले समाचार प्रसारण गरेको थियो ।
सीएनएनका अनुसार डोमिनियनले आफूविरुद्ध गलत समाचार दिएर आफ्नो मानहानि गरेको भन्दै फक्सन्युजविरूद्ध अदालत गएको थियो । फक्सन्युजबाट १६०० मिलियन डलर क्षतिपूर्ति माग गरेको थियो । डेलावारको उच्च अदालतमा मुद्दाको अन्तिम सुनुवाइ हुनुअघि फक्सन्युजले डोमिनियनलाई ७८७ मिलियन डलर क्षतिपूर्ति तयार भएको थियो । फक्सन्युजलाई अमेरिकामा ट्रम्प समर्थक मिडियाको रूपमा चिनिन्छ ।
फक्स न्युज अन्तर्राष्ट्रिय मिडिया टाइकुन रूपर्ट मुर्डकको हो । पछिल्लो ६ सातादेखि यस मुद्दाको सुनुवाइ भइरहेको थियो । मुद्दा सुनुवाइको क्रममा फक्स कर्पोरेशनका प्रमुख मुर्डक, उनका छोरा लाचलन मुर्डक लगायत फक्सन्यूजका उच्च अधिकारीहरू बयान दिन उपस्थित रहेका थिए ।