काठमाडौं – भारतमा एक पूर्वसांसद र उनका भाइको गोली हानी हत्या भएको छ । पूर्व विधायक राजु पालको हत्या आरोपमा प्रहरी नियन्त्रणमा रहेका उत्तर प्रदेशको प्रयागराजमा पूर्वसांसद अतिक अहमद र उनका भाइ अशरफको गोली हानी हत्या भएको हो ।
उत्तर प्रदेश प्रहरीले पूर्व सांसद अहमद र उनका भाइको हत्या भएको पुष्टि गरेको छ । प्रहरीका अनुसार आक्रमणकारीहरु पत्रकार बनेर आएका थिए । तीनै आक्रमणकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रयागराजका प्रहरी आयुक्तले अतीक अहमद र उनका भाइ अशरफलाई कानुनी आवश्यकताहरू पूरा गर्न मेडिकल उपचारका लागि लगिँगै गर्दा आक्रमण भएको जनाएका छन् । अस्पताल नजिकै प्रहरीले घेरिएका अतेक र असरफलाई आक्रमणकारीले भिड नजिकैबाट आक्रमण गरी मृत्युपश्चात धार्मिक नारा लगाएका थिए ।
प्रहरीका अनुसार घटनामा एक प्रहरी र पत्रकार पनि सामान्य घाइते भएका छन् । आक्रमणपछि प्रहरीले अस्पतालवरपरको क्षेत्रमा नाकाबन्दी गरेको छ । तीन आक्रमणकारीलाई नियन्त्रणमा लिन प्रहरी सफल भए पनि तिनको परिचय सार्वजनिक गरिएको छैन ।
आक्रमणकारीको बारेमा सोधपुछ भइरहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । अस्पतालअगाडि उपस्थित पत्रकार अतीक र उनका भाइसँग कुरा गरिरहेका थिए, अचानक एकतर्फबाट आएका आक्रमणकारीले उनीहरूमाथि नजिकबाट गोली प्रहार गरेका थिए । गोली चलेको यो घटना मिडियाको क्यामेरामा कैद भएको छ ।
घटनाको भिडियोमा अस्पतालको अगाडि प्रहरीको गाडी रोकिएको देख्न सकिन्छ, जहाँबाट पहिले अशरफ र आतिक तल ओर्लिन्छन् । अतिक र उनका भाइको हातमा हत्कडी बाँधिएको थियो । भिडियोमा अतिक आफ्नो भाइसँग प्रहरीको बीचमा हिँडिरहेको देखिन्छ ।
यसैबीच, मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनालाई लिएर उच्चस्तरीय बैठक बोलाएका छन् । बिबिसी हिन्दीका अनुसार, आदित्यनाथले यसलाई गम्भीरतापूर्वक लिँदै उच्चस्तरीय छानबिनको आदेश दिएका छन् । घटनाको छानबिन गर्न तीन सदस्यीय न्यायिक आयोग पनि गठन गरिएको छ ।