आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – प्रादेशिक अस्पताल सिरहाको जेनेरेटरमा आगलागी भएको छ । आगलागीका कारण प्रादेशिक अस्पताल सिरहामा डायालासिस गराइरहेका एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा सिरहाको बरियारपट्टी गाउँपालिकाका ६५ वर्षीय प्रदीपकुमार दास छन् । डायालासिस वार्डको छेउमै राखिएको जेनेरेटरमा आगलागी भएपछि वाडमा भागाभाग मच्चिएको थियो । त्यस क्रममा डायालासिस गराइरहेका दासलाई रगतको कमी भएकाले रगत चढाइएको थियो ।

आगलागी भएको जानकारी पाएपछि वार्डमा खटिएका स्वास्थ्यकर्मीले रगतको पाइप चुँडाइदिएको र क्याब नलगाउँदा बिरामीको अत्यधिक रक्तश्राव भएको थियो । अत्यधिक रक्तश्रावका कारण गम्भीर बनेका दासको उपचारको क्रममा मृत्यु भएको हो । आगलागीको समयमा आठ बिरामीले डायालासिस गराइरहेका थिए । पहिलेदेखि सिकिस्त दासको उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी अशोक सिंहले जानकारी दिएका छन् ।

अरू वार्डमा पनि भर्ना भएका बिरामीहरूको भागाभाग भएको थियो । डायालासिस, एचडियू, प्रसूति वार्डलगायतमा भर्ना भएका बिरामी आगलागीबाट बच्न बाहिर निस्किएका थिए । यतिबेला अस्पतालका मेसु डा. नागेन्द्रप्रसाद यादव नेपाल बाहिर रहेको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया