समाचार सुन्नुहोस् :
काठमाडौँ – आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि आजबाट निर्वाचन आचारसंहिता लागू भएको छ। शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न/गराउनको लागि आवश्यक व्यवस्था मिलाउन बारा, तनहुँ र चितवन जिल्लाका जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने निर्णय पनि भएको आयोगले जनाएको छ।
नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेको व्यक्तिलगायतलाई आचारसंहिता लागू हुने आयोगले जनाएको छ। चितवन–२, बारा–२ र तनहुँ–१ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ।
गत मंसिर ४ गते भएको निर्वाचनमा चितवन–२ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएसँगै पदमुक्त भएपछि उपनिर्वाचन गर्न लागिएको हो। त्यस्तै, तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचन रामसहाप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएकाले उपनिर्वाचनबाट सो रिक्त पदपूर्ती गर्न लागिएको हो।