बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

काठमाडौं – नेपाली नाट्यकर्मीले तयार पारेको ‘इम्ब्रियोनिक’ नाटक जापानमा मञ्चन गरिने भएको छ । इन्द्रेणी थिएटरको प्रस्तुति रहेको उक्त नाटक यही अप्रिल ८ र ९ तारिखमा जापानको इतावासीस्थित सबटेरेनियम थिएटरमा मञ्चन गरिने भएको हो ।

इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले इम्ब्रियोनिक नाटकमा मानव विकासक्रम र अन्त्यसम्मको सङ्घर्षका गाथामा आधारित रहेको बताए । ‘कला क्षेत्रमा सबै कलाका विधा प्रयोग गरेर केही नौलो प्रस्तुति जन्माउन खोजिएको उक्त नाटकलाई थप परिस्कृत गर्दै जापान लान लागिएको हो’, अध्यक्ष पौडेलले भने । टिकटमा प्रस्तुत गरिने उक्त नाटक जापानमा दुई सो प्रदर्शन गर्न लागिएको बताइएको छ ।

केही महिना अघि मात्र तयार भएको उक्त नाटक कास्कीको पोखरा-१९ को ढिकीडाँडा रिसोर्ट, पोखरा थिएटर र काठमाडौँको मण्डला थिएटरमा प्रदर्शन गरिएको अध्यक्ष पौडेलले जानकारी दिए । उक्त नाटक प्रदर्शन गर्न इन्द्रेणी थिएटरका अध्यक्ष एवं नाटकको लेखन निर्देशन केदारनाथ पौडेल र सोही संस्थाका कपील शर्मा र दीपेन्द्र पौडेल जापान जान लागेका छन् ।

नाटकको सङ्गीत शिवहरि अर्याल र अर्जुन गुरुङले निर्माण गरेका हुन् । नाटक तयार पार्नका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानले सहयोग गरेको उक्त संस्थाद्वारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । विसं २०७६ मा स्थापना भएको इन्द्रेणी थिइटर स्थापना कालदेखि नाटक तथा साहित्यका अन्य विधामा काम गर्दै आएको जानकारी सो अवसरमा दिइएको छ ।

तपाईको प्रतिक्रिया