समाचार सुन्नुहोस् :
काठमाडौँ – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । भोलि बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
“परीक्षाको सबै तयारी पूरा भइसकेको छ, ७७ वटै जिल्लाका सबै जिम्मेवार निकायसँग अनलाइनमार्फत् बैठक सम्पन्न भएको छ”, उनले भने, “परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रुपमा सम्पन्न गराउन सबैमा आह्वान गर्दछौ ।” उनले सबै परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष नियुक्ती, सुरक्षा व्यबस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तर पुस्तिका पुर्याउने लगायतका सबै काम सकिएको जानकारी दिए ।
एसईईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको आयोजनामा सात प्रदेशका प्रदेश सरकारका शिक्षा हेर्ने मन्त्रालयका सचिवहरु, सातै प्रदेशका शिक्षा बिकास निर्देशनालयका निर्देशकहरु, ७७ वटै जिल्लाका शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुखहरु, राष्ट्रिय परीक्षा बोर्डका प्रदेश र शाखा कार्यालयका प्रमुुखहरु, बोर्डका अध्यक्ष, सदस्य सचिव, परीक्षा नियन्त्रण, उपनियन्त्रक कर्मचारीलगायतको भर्चुअल बैठक सम्पन्न भएको बताए ।
जापानमा पनि परीक्षा केन्द्र
बोर्डले यसवर्ष जापानमा पनि एसइई परीक्षा केन्द्र कायम गरेको छ । नेपालबाट रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिने भएका हुन् । जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा अध्यापन हुने टोकियोको एक शैक्षिक संस्थाबाट जापानमा रहेका नेपाली एसइई परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको हो ।
त्यसका लागि बोर्डले जापानमा एक परीक्षा केन्द्र निर्धारण गरेको छ । जापानमा रहेका परीक्षार्थीका लागि बोर्डले आवश्यक उत्तरपुस्तिका जापान पठाइसकेको र प्रश्नपत्र भने परीक्षा सुरु हुनु केही समय अगाडि इमेलमार्फत पठाउने भएको छ ।