समाचार सुन्नुहोस् :
काठमाडौँ – अनलाइनबाट ठगी गरेको आरोपमा ९ जना चिनियाँ नागरिकसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंका विभिन्न ठाउँमा घर भाडामा लिई अनलाइनबाट ठगी गर्न संलग्न रहेको आरोपमा प्रहरीले बूढानिलकण्ठ नगरपालिका ४ महादेवखोला र काठमाडौं महानगरपालिका ४ चण्डोल क्षेत्रबाट १९ जनालाई पक्राउ गरेको हो।
ह्वाट्सएपलगायतबाट अनलाइन कक्षासमेत सञ्चालन गर्दै उनीहरूले ठगी गरेका थिए। उनीहरूलाई मंगलबार पक्राउ गरी हिजो बुधबार सार्वजनिक गरिएको हो। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवन काठमाडौंले ठगी कसुरअन्तर्गत थप अनुसन्धान एवं कारबाही गरिरहेको छ।
उनीहरूको साथबाट १२ थान ल्यापटप, ७७ थान मोबाइल सेट, ७४ थान सिम कार्ड, राहदानी ६ थान, २ थान कम्प्युटर र राउटर ४ थान पनि बरामद भएको छ। साथै चार लाख १ हजार ८ सय ८० रुपैयाँ पनि बरामद भएको छ।