काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण फेरेर विश्वासको मत लिएको १ हप्ता वितिसकेपछि सत्तारुढ गठबन्धनका दलहरु मन्त्रिपरिषद्लाई पूर्णता दिन अन्तिम तयारीमा लागेका छन्। सत्ता गठबन्धनका प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच सोमबारको बैठकमा जुटेको समझदारीअनुसार आज (मंगलबार) बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिइन लागेको हो।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच छलफल भएको थियो। उक्त छलफलमा मंगलबार बेलुकीसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने समझदारी जुटेको थियो।
मंगलबार दिउँसो सत्तारुढ दलहरुले आन्तरिक विषय मिलाएर अपराह्न ४ बजे सबै दलहरुको बैठक बस्ने जनाइएको छ। मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न मंगलबार अपाराह्न ४ बजे १० दलको बैठक बस्ने छ।
त्यसअघि अन्य दलहरुले बैठक बसेर मन्त्रीहरुको नाम लगायत विषय टुंग्याउने जनाइएको छ। मन्त्रीहरुको नाम टुंग्याउन नेपाली कांग्रेसले बिहान ९ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। नेकपा एकीकृत समाजवादीले भने मन्त्रीको नाम टुंग्याइसकेको छ। एकीकृत समाजवादीले पार्टी उपाध्यक्ष बेदुराम भुसाल र नेता प्रकाश ज्वालालाई सरकारमा पठाउने पक्का गरेको हो।