समाचार सुन्नुहोस् :
काठमाडौँ – साउदीले गैर कानुनी कामदारमाथि धड्पकड तीव्र पारेसँगै थप करिब १७ हजार आप्रवासी पक्राउ परेका छन् । एक साताभित्र राज्यका विभिन्न क्षेत्रबाट रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १६ हजार ६४९ जना पक्राउ परेका छन् । साउदीको गृह मन्त्रालयका अनुसार १६ देखि २२ मार्चसम्म एक साताको अवधिमा सुरक्षा बलका विभिन्न इकाइले राज्यभर गरेको संयुक्त फिल्ड अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।
यी मध्य कानुन उल्लङ्घन गर्नेलाई ओसारपसार गर्ने र आश्रय दिने १८ जनालाई पनि सुरक्षा बलले पक्राउ गरेको जवाजतलाई उद्धृत गर्दै साउदी गजेटले जनाएको छ। यी सबैलाई सजाय तथा कानुनी प्रक्रिया पुर्याएर देश निकाला गरिने जनाएको छ ।घुसपैठ गर्ने, राज्य प्रवेशमा सहजीकरण गर्ने, ढुवानी, आश्रय दिने,कुनै सहयोग वा सेवा प्रदान गर्नेलाई १५ वर्षसम्म कैद र अधिकतम १० लाख साउदी रियाल जरिवानाको सजाय हुने त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी धड्पकड अभियान तीव्र पारेसँगै गैर कानुनी रुपमा त्यहाँ कार्यरत सयौँ नेपालीहरू पनि पक्राउ परेका र हाल उनीहरूलाई जेलमा राखिएको र जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गर्ने गरेको छ ।