बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र महानगर प्रहरी प्रमुखलाई काठमाडौँवासीको प्रश्न, ‘महानगरले सुकुम्वासी भनिएका हुकुम्वासीहरुलाई हटाउन नसकेकै हो ? बालेनको डोजर थन्किएकै हो ?’

थापाथली किनारमा वर्षौँदेखि सरकारी जग्गा हड्पेर अनधिकृत संरचना बनाएर बसोबास गर्ने काम भइरहेको छ । ठूल्ठूला महल भएका, हात र गलामा टन्न सुन लगाएका, महँगा गाडी चढ्नेहरू त्यहाँ बस्छन् । सरकारलाई दबाब दिएर सो जग्गा आफ्नो नाममा ल्याउने अनि ल्याप्पै खाने यिनीहरूको योजना हो ।

विगतदेखि वर्तमानसम्म यही प्रवृत्ति देखिँदै आएको छ । छोराछोरी डाक्टर छन् तर म सुकुम्वासी हुँ भन्दै हिँडेका छन् । तिनलाई सरकारले के आधारमा सुकुम्वासी भन्ने ? सुकुम्वासी भनेर सरकारी जग्गा अतिक्रमण गर्न पाइँदैन । बालेन र महानगर प्रहरी प्रमुख पाण्डेले सुकुम्वासी हटाउन यसअघि कोसिस गरेका थिए । गत मंसिर १२ गते सुकुम्वासी बस्तीमा डोजर लिएर पुगेका उनीहरूले केही उपलब्धि हासिल गर्न सकेनन् । थापाथली किनार रणभूमिमा परिणत भएपछि त्यहाँबाट महानगर प्रहरीको टोली फर्कियो ।

तर, त्यसपछि सुकुम्वासी हटाउन कुनै पहल गरिएन, किन ? बालेन र प्रहरीको टोली सेलाउनुको कारण के ? कि त बालेनले राजनीतिक दलबाट आएको दबाब खेप्न नसकेको हुनुपर्छ । कि उनलाई पनि डरले सतायो । आफूलाई केही गरिहाल्ने पो हो कि भन्ने भयले उनी पछि हटेको हुनसक्ने अनुमान लगाउनेहरू पनि छन् । त्यति नै अप्ठ्यारो परेको हो भने बालेनले पत्रकार सम्मेलन गरेर आफ्नो मतदातालाई सूचित गराउनुपर्‍यो । मतदातासँग सुकुम्वासी हटाउन नसकेकोमा माफी माग्नुपर्‍यो ।

पदमा बसेपछि धम्की आइरहन्छन्, जुन स्वाभाविकै हो । काम गर्दा साथ दिने पनि आउँछन्, खुट्टा तान्ने पनि उत्तिकै हुन्छन् । भएका अप्ठ्यारा चिर्दै जनताको काम गर्ने मात्रै सच्चा राष्ट्रसेवक हुन् । बालेनसँग अब दुइटै मात्र उपाय छन् । कि त काठमाडौँवासीको सामु आत्मसमर्पण गर्नुपर्‍यो कि डोजर लिएर सुकुम्वासी बस्तीमा पुग्नुपर्‍यो । प्रहरी प्रमुख पाण्डेले वाहवाह पाउने थुप्रै काम गरेका छन् । उनको धेरैजसो काम प्रशंसायोग्य छ । तर, अहिले आएर उनी पनि सेलाए ।

उनी सेलाउँदा सुकुम्वासी भनिएका हुकुम्वासीहरुको मनोबल बढेको छ । सरकारी जग्गा कब्जा गर्ने छुट कसैले पनि नभएकाले त्यो तत्काल भत्काइनुपर्छ । आज एउटा भोलि अर्को गर्दागर्दै यसले विकराल रूप लिन्छ । पाण्डे आफ्नो टोली लिएर सुकुम्वासी हटाउन जान ढिलो भइसकेको छ । जनताले तिरेको करबाट तलब खाने, जनताका लागि काम गर्छु भन्दै कसम खाने अनि राज्यको ऐनकानुनलाई धोती लगाएर सरकारी जग्गा मिचेकालाई छुट दिने । खोइ त राष्ट्रका लागि काम गरेको ?

पाण्डेले कि सुकुम्वासी हटाउनुपर्‍यो कि नैतिकताका आधारमा राजीनामा दिनुपर्‍यो । काम गरेर देखाउन नसक्नेले पद मात्र ढाक्नुको कुनै औचित्य छैन । सुकुम्वासी बस्ती हटाउन जाँदा त्यहाँ हानाहान भएपछि महानगर प्रहरीको टोली त्यहाँबाट भाग्यो । महानगर प्रहरीको टोलीले त्यतिखेरै हात उठाइसकेको थियो । देश र जनताको लागि काम गर्ने व्यक्ति बरु मर्न तयार हुन्छ । तर, महानगर प्रहरीको टोली एकदुई थप्पड खानेबित्तिकै त्यहाँबाट कुलेलम ठोकिहाल्यो । महानगर प्रहरी असक्षम रहेछ भन्ने त यहाँबाट स्पष्ट भइसकेको छ ।

महानगरपालिकाले सुकुम्वासी हटाउनका लागि गृह मन्त्रालयसँग सुरक्षा माग गर्‍यो । गृहले साथ दिएन भन्दैमा आफ्नो काम नै छोडिदिने ? यो त भएन नि । देशभरका जनताले साथ दिएका छन् । काठमाडौँवासी बालेनको पाइलासँग पाइला हिँडिरहेका छन् । अनि बालेन किन डराउने ? महानगर प्रहरीको टोली किन पछि हट्ने ? गर्न लागेको काम पुरा गरेर छाड्औं । बिचमा छोड्दा उनीहरूको थप मनोबल बढ्छ । कि २४ घण्टाभित्रमा सुकुम्वासी हटाउनुपर्‍यो कि काम गर्न सकिनँ भन्दै बालेन र पाण्डेले राजीनामा दिए हुन्छ ।

खोलाको छेउमा टहरा हालेर बस्दा काठमाडौँको सुन्दरतामा ह्रास आएको छ । उनीहरूको कारणले खोला फोहोर भएको छ । यो हेर्नलाई धेरै टाढा जानुपर्दैन । बाग्मती किनार गए छर्लङ्ग देखिन्छ । सुकुम्वासीलाई हटाएर खोलाको छेउछाउ पार्क बनाउनुपर्छ । वृक्षारोपण गर्नुपर्छ । अनि काठमाडौँ सुन्दर देखिन्छ । मान्छेहरूलाई आराम गर्ने ठाउँको व्यवस्थापन पनि हुन्छ । तर, मेयर नै पछि हटेपछि कसको के लाग्छ ? बालेन सुकुम्वासीदेखि थरथरी भइहाल्छन्, महानगर प्रहरीको टोली त्यहाँ जाने आँट नै राख्दैनन् ।

महानगर प्रहरीको टोलीले सुकुम्वासी हटाउन नखोजेका होइनन् । उनीहरूले कोसिस गरे तर असफल भए । उल्टै चुटिएर आए । त्यतिमै उनीहरूको आत्मबल गिर्‍यो । खेल मैदानमा उत्रिएको खेलाडी कि त जित्छ कि हार्छ । हार्‍यो भन्दैमा खेल्न छोड्यो भने त उसको कोसिस नै खेर जान्छ । ऊ फेरि उठ्छ र खेल्छ । सफलता हासिल गर्छु भनेर हिँड्ने व्यक्ति मात्र सफल हुन्छन् । सफलता खोज्दा विभिन्न अड्चन आइपर्छ । त्यसलाई चिर्दै अघि बढ्नुपर्छ । तर, महानगर प्रहरीको यो देखिएन ।

एकाध थप्पड र ढुंगा खाएका महानगर प्रहरीले त्यसपछि त्यहाँ जाने हिम्मत नै देखाएनन् । एकचोटि मै महानगर प्रहरीको टोली शिथिल बन्यो । अब पनि महानगर हात बाँधेर बस्ने हो भने यहाँका स्थानीय खटिने छन् । यहाँका स्थानीय बासिन्दाहरूले सुकुम्वासी हटाउने छन् । सुकुम्वासी भन्ने जे मनलाग्यो त्यही गर्ने । सुकुम्वासीका कारण यहाँका स्थानीयलाई सास्ती भएको छ । जाँडरक्सी खाने, होहल्ला गर्ने, अपशब्दको प्रयोग गर्ने, दिनदिनै कुटाकुट र झगडा गर्ने । यस्तोमा कसरी बस्ने ?

काठमाडौँ अहिले सबैभन्दा फोहोरी शहर बनेको छ । बाहिरी जिल्लाका बसोवासीहरु यहाँ आएर सरकारी जग्गा कब्जा गर्न मिल्छ ? आफ्नै जिल्लामा गएर सरकारी जग्गा अतिक्रमण गर्ने अनि जे मनलाग्छ त्यही गर्ने । यहाँको सरकारी जग्गामा यहीका स्थानीयको हक लाग्छ । बाहिरका मान्छे आएर यहाँ जथाभाबी गर्न पाउँदैनन् । सुकुम्वासी भन्दैमा सबै सरकारी जग्गा कब्जा गरेपछि यहाँका स्थानीयहरू मर्कामा परेका छन् । कहीकतै बस्ने ठाउँ छैन । सुकुम्वासीहरूले गाउँघरमा भएको आफ्नो रोपनीका रोपनी जग्गा बाँझो राखेका छन् ।

आफ्नो निजी घर भाडामा लगाएर अर्काको जिल्लामा आएर यहाँको बासिन्दाको हक मिच्न पाउँछन् ? यहाँको जनता सधैँ टुलुटुलु हेरेर बस्छन् ? अब स्थानीय नै सुकुम्वासीको विरोधमा उत्रिन्छन् । अर्काको हक मिच्न मिल्दैन । सुकुम्वासी हटाउनुपर्छ भनेर यहाँका स्थानीय नै सडकमा आउने छन् । महानगरपालिकाले नहटाएपनि आफ्नो अधिकारको संरक्षण स्थानीयले गर्ने छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तहमा चुनावमा काठमाडौँवासीले बालेनलाई भारी मतका साथ विजयी गराए ।

राजनीतिक दलदेखि वाक्क भएका उनीहरूले मेयरमा बालेनलाई चुने । बालेनले पनि काम गरेर देखाए । जसका कारण काठमाडौँका जनताका मात्र होइन, देशभरका जनताको शिर ठाडो बनेको छ । बच्चादेखि बुढासम्मले बालेनको कामको प्रशंसा गरेका छन् । राजु पाण्डेले पनि रातदिन नभनिकन खटिएर काम गरेका हुन् । यसअघि सुस्ताएको महानगर प्रहरीको टोली उनकै कारणले चलायमान बन्यो । ललितपुर र भक्तपुरको नगरप्रहरी हेरि काठमाडौँकाले धेरै राम्रो काम गरे ।

यो विषय एकदमै चर्चित पनि बन्यो । भक्तपुरको सूर्यविनायक नगरपालिकाका नगर प्रहरीहरू दिनभरि जुम्रा हेरेर बस्छन् । घाम तापेर बस्छन्, गफ गरेर दिन बिताउँछन् । तर, फुटपाथ हटाउनतर्फ यिनीहरूको ध्यान छैन । जनताले तिरेको करबाट तलब खाने र लुगा लगाउने काम मात्र भइरहेको छ । हुन त त्यहाँको मेयर पनि त्यस्तै छन् । मेयर राम्रो भए पो नगर प्रहरी राम्रा हुन्छन् । जग्गा प्लानिङ गर्ने, कमिसन खाने । यो बाहेक मेयरले केही काम गर्दैनन् ।

ललितपुरको पनि त्यही नै हो । पहिले ट्राफिकमा हुँदा सीताराम हाछेथुले राम्रै काम गरेका थिए । अहिले त उनी पनि सुस्ताएकै छन् । त्यहाँका मेयर चिराबाबु महर्जनले न सार्वजनिक जग्गा खोताले । न घरभाडाको मापदण्ड बनाए । केही पनि गरेनन् । तर, बालेनले त रिस मोलेरै काम गरेका थिए । उनी त आफैँ फिल्डमा खटिएका थिए । अहिले आएर उनी सेलाए । उनी सेलाउँदा महानगर प्रहरी निराश बनेका छन् । डोजर पनि थन्किएको छ ।

कि डोजरमा तेल हाल्ने पैसा महानगरपालिकासँग छैन ? होइन त डोजर निकाल्नुपर्‍यो । काम अघि बढाउनुपर्‍यो । अझै पनि गृहको मुख ताकेर बस्यो भने सुकुम्वासी हटाउन सकिँदैन । गृहले काम गर्ने भएको भए बालेन किन चाहियो ? गृहले सुरक्षा दिनुपर्ने भए महानगर प्रहरीले किन जागिर खाएको ? गृहलाई देखाएर जनताको आँखामा छारो हाल्न पाइँदैन ।

तपाईको प्रतिक्रिया