काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जनयुद्धलाई अपराधीकरण गरेर उपलब्धिहरूलाई विनाश गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मुद्दा लगाइएको जिकिर गरेका छन् ।
चार कम्युनिस्ट पार्टीले संयुक्त मोर्चा घोषणाका लागि आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव विप्लवले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध मुद्दा लगाएर गणतन्त्रलाई पश्चगामी र दलाल पुँजीपतिको हातमा हाल्दिने षड्यन्त्र गरिएको दाबी गरे ।
उनले प्रतिक्रान्तिकारी सन्देश दिने उद्देश्यका साथ मुद्दा हालिएको भन्दै त्यसको जवाफ दिनका लागि आफूहरू तयार रहेको बताएका छन् । उनले क्रान्तिको नेतृत्व गर्ने नेतालाई व्यक्तिगतरूपमा मुद्दा लगाउनु क्रान्तिलाई अस्वीकार गर्ने प्रवृत्तिसँग सम्बन्धित रहेको उल्लेख गरे । महासचिव विप्लवले त्यो मुद्दालाई आफूहरूले अस्वीकार गर्ने बताए ।
उनले भने, ‘यो मुद्दा भनेको गणतन्त्रलाई पनि सहन गर्न नसक्ने प्रवृत्तिको हमला हो । यो गणतन्त्रलाई सम्पूर्णरूपले पश्चगामी र दलाल पुँजीपति वर्गको हातमा हाल्दिने षड्यन्त्र हो । विश्वमा र नेपालमा एउटा परिवर्तनकारी आन्दोलनको नेतृत्व गरेको थियो त्यो सम्भव छैन है, अब कसैले पनि त्यसलाई सोच्नु हुँदैन है भनेर एकदमै प्रतिक्रान्तिकारी सन्देश दिने उद्देश्यका साथ यो मुद्दा हालिएको छ । प्रश्न उठ्छ किन ? किनकी क्रान्ति भनेको पुरानो सत्ताले खडा गरेका अन्तरविरोधहरू, समस्याहरू, सङ्कटहरू, दमन, उत्पीडनहरूको विरुद्धमा हुने चिज हो । त्यो नागरिकसँग सम्बन्धित कुरा हो । पार्टी वा नेताले त्यसको नेतृत्व गर्ने हो’, उनले भने ।
उनले भने, ‘त्यो कुरालाई एउटा व्यक्तिमा लगेर जोडेर जसरी हमला गर्न खोजिन्छ, त्यो चाहिँ क्रान्तिलाई नै अस्वीकार गर्ने, ध्वंस गर्ने प्रवृत्तिसँग सम्बन्धित छ । त्यसैले हामीले अस्वीकार गरेका छौँ । यसको जवाफमा हामीले के भनेका छौँ भने– प्रचण्डजीहरूले उहाँको पार्टीमा के गर्नुहुन्छ उहाँहरूको कुरा हो । तर जनयुद्धलाई अपराधीकरण गर्ने र जनयुद्धका उपलब्धिहरूलाई विनाश गर्न खोज्ने प्रवृत्तिसँग यो मोर्चा पनि लड्छ । त्यसको कुनै पनि जवाफ दिन हामी तयार छौँ । यो जनयुद्धमाथिको आक्रमण हो ।’
महासचिव विप्लवले प्रचण्डमाथिको मुद्दा व्यक्तिगत मामिला मात्रै नभएर राज्य र नागरिकको मामिला भएको भन्दै आफूहरू त्यसको प्रतिरोधमा आएको बताएका छन् । माओवादी घटकहरू एक हुने सम्भावना रहेको र त्यसको निम्ति छलफल पनि भइरहेको उनको भनाई छ ।