काठमाडौं – अमेरिकाले युक्रेनलाई ४०० मिलियन डलरको सैन्य सहयोग उपलब्ध गराएको छ। अमेरिकाले उपलब्ध गराएको नयाँ सैन्य प्याकेजमा ट्यांक र बख्तरबन्द गाडीलाई एक ठाउँबाट अर्को ठाउँ लैजान आवश्यक पर्ने अस्थायी पुलसहित गोला-बारुद समावेश छन्।
यसमा आधुनिक रकेट लञ्चर पनि समावेश छ। यसअघि रुसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पुगेकै दिन २० फेब्रुअरीमा अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनको राजधानी किभ पुगेका थिए।
त्यहाँ उनले युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई भेटेका थिए। त्यतिबेला दुई नेताबीच सहयोग उपलब्ध गराउनेबारे छलफल भएको थियो। बाइडनले अमेरिका कुनै पनि हालतमा युक्रेनको साथ रहने बताएका थिए। बाइडेन प्रशासनले गरेको पछिल्लो घोषणालाई यसकै रूपमा हेरिएको छ। रुसले युक्रेनलाई हमला गरेयता अमेरिकाले ३० बिलियन डलरभन्दा धेरैको सहयोग उपलब्ध गराइसकेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ।