काठमाडौं – सरकारले विदेशी पर्यटकहरूलाई गाइडविना पदयात्रामा जान प्रतिबन्ध लगाएको छ। यो नियम आउँदो अप्रिल १ देखि लागू हुनेछ।
यसअघि पर्यटकहरू एक्लै पनि पदयात्रामा जान पाउने व्यवस्था रहेकामा पर्यटकहरूको सुरक्षालाई ध्यान दिएर विना गाइड पदयात्रामा जान नपाउने व्यवस्था गरेको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए ।
यो समय हिमाली क्षेत्रमा पदयात्राका लागि उपयुक्त समय हो । पर्यटन व्यवसाय सामान्य रहेको अवस्था अर्थात् कोरोना महामारीअघि सन् २०१९ मा झन्डै ५१ हजार पर्यटक विना गाइड पदयात्रामा जानका लागि नेपाल आएका पर्यटन बोर्डको तथ्याङ्क छ ।
उनीहरू नेपाल पर्यटन बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड बिक्रीको अनुमति पाएका निकायबाट टिम्स कार्ड लिएर एक्लै भ्रमणमा गएका थिए । यस्ता पर्यटकहरू दुर्घटनामा पर्दा उद्धारमा समस्या हुनुका साथै लुटपाटलगायतका समस्या पनि देखिन थालेकाले सुरक्षा, उद्धार र व्यवस्थापनलाई ध्यान दिएर यस्तो व्यवस्था गरेको निर्देशक लामिछानेले बताएका छन् ।
अब पर्यटकहरू कम्पनीमार्फत नेपाल आएर गाइडका साथमा मात्रै पदयात्रामा जान पाउने छन् । बोर्डले विना गाइड घुम्ने पर्यटकहरूका लागि जारी हुने टिम्स कार्ड बन्द गरेसँगै अब सबै पर्यटकलाई एकै प्रकारको टिम्स कार्ड वितरण गर्नेछ ।