समाचार सुन्नुहोस् :
काठमाडौं – वैदेशिक रोजगारीमा गएर चार महिनादेखि साउदी अरबको रियादमा अलपत्र २४ नेपाली युवालाई सकुशल नेपाल फर्काइएको छ। अलपत्र युवालाई साउदीस्थित नेपाली दूतावास र साउदी गैरआवासीय नेपाली संघ (एनआरएन)को पहलमा स्वदेश फर्काएको हो । अलपत्र २४ युवा काठमाडौंको पिजन एचआर सोलुसन नामक म्यानपावरबाट २०७८ मा रोजगारीका लागि साउदी पुगेका थिए। साउदीको दुरत अलनखिल होटलमा क्लिनर र वेटरका रूपमा काम गर्न पुगेका ती युवाले सम्झौताअनुसार काम र सेवा–सुविधा नपाएपछि उद्धारका लागि नेपाली दूतावाससँग आग्रह गरेका थिए।
अलपत्र परेर उद्धार गरिनेमा पाल्पाका जितबहादुर सार्की, रुपन्देहीका प्रदीप पोखरेल, लमजुङका मिलन रानामगर, चितवनका सुरज जिसी, दाङका प्रमोद चौधरी, सिन्धुपाल्चोकका सोनाम गोले र राजेश सुवेदी, चितवनकै प्रकाश गुरुङ, प्युठानका रुमबहादुर घर्तीमगर, मकवानपुरका शम्भु घिसिङ तथा गुल्मीका सुरज नेपाली रहेका छन्।
त्यस्तै, गुल्मीका अर्जुन क्षेत्री, अर्घाखाँचीका राजकुमार श्रेष्ठ र सन्दीप श्रेष्ठ, रोल्पाका निरन घर्तीमगर, पाल्पाका शेरबहादुर थापा, झापाका बालकृष्ण रिजाल, रुपन्देहीका बलबहादुर खत्री, कास्कीका राजन दर्लामी मगर, पाल्पाका विष्णु नेपाली, बर्दियाका जोगेन्द्र नगरकोटी, दाङका दिनेश चौधरी र सुशील पुनमगर र पर्वतका रमेश सुनारलाई उद्धार गरेर स्वदेश फर्काइएको हो।