काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा)का शीर्ष नेताहरूले बुधबार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्दैछन्। राष्ट्रपतिको निर्वाचन नजिकिरहँदा सहमतीय राष्ट्रपतिको उपयुक्त पात्र महन्थ ठाकुर रहेको भन्दै लोसपाका शीर्ष नेताहरूले आज कांग्रेस सभापति देउवासँग भेटवार्ता गर्ने भएका हुन्। उक्त प्रस्ताव लिएर लोसपाका शीर्ष नेताहरूले आज बिहान ९ बजे पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवालाई भेट्न लागेको लोसपाका शीर्ष नेता राजेन्द्र महतोले जानकारी दिए।
लोसपाका शीर्ष नेताले हिजो मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटवार्ता गरेका थिए। दुवै भेटमा पनि आफूहरूले सोही प्रस्ताव राखेको नेता महतोले जानकारी दिए।राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सक्किनै लाग्दा यतिबेला नयाँ राष्ट्रपतिका लागि राजनीतिक दल र त्यसका शीर्ष नेताहरूको दौडधुप चलिरहेको छ।
यही फागुन २५ गतेका लागि तय भएको राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवार सत्तागठबन्धनको तर्फबाट एमालेको भागमा परेपनि प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपतिको उम्मेदवार चुन्नुपर्ने बताएपछि दौडधुप बढेको हो। राष्ट्रपतिको निर्वाचनको विषयले सत्ता गठबन्धनमा ‘खटपट’ आउने आंकलन गरिएको छ।