सुन्नुहोस् :
काठमाडौँ – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिली फरवार्ड नेयमार कम्तीमा एक महिना मैदान बाहिर रहने भएका छन् । फ्रेन्च लिग वान अन्तरगत आइतबार राति लिलमाथि ४–३ को रोमाञ्चक जित निकालेको खेलमा नेयमारले घुँडाको चोट बोक्न पुगेका थिए । एमआरई परिक्षणपछि उनी कम्तीमा पनि एक महिना मैदान बाहिर रहने क्लबले जनाएको छ ।
यो पिएसजीको लागि ठुलो झट्का हो । किनभने नेयमारले जर्मन क्लब बायर्न म्युनिखविरुद्धको युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेग गुमाउनेछन् । पहिलो लेगमा १–० ले पछि रहेको पिएसजीले दोस्रो लेग बायर्नकै मैदानमा मार्च ८ मा खेल्दैछ ।
प्रभावशाली नेयमार नहुँदा प्रशिक्षक क्रिस्टोफ गाल्टिएरको टोलीका लागि यो कठिन हुनेछ । ‘उनको एमआरआई स्क्यानमा कुनै फ्याक्चर भएको देखिएको छैन । तर, उनको लिगामेन्टको थप परिक्षण भइरहेको छ ।’ पीएसजीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बेन्जामिन आन्द्रेले गरेको ट्याकलमा नेयमार घाइते भएका थिए । लिल मिडफिल्डरले ब्राजिलियनलाई फउल गरेपछि उनी मैदानमा लड्न पुगेका गिए । त्यसपछि उनलाई स्ट्रेचरबाट मैदान बाहिर लगिएको थियो । विश्वकपमा पनि सोही खुट्टामा चोट बोकेपछि उनले समुह चरणका दुई खेल गुमाउनु परेको थियो ।
३१ वर्षीय नेयमारले यो सिजन पिएसजीका लागि २९ खेलमा १८ गोल गरिसकेका छन् । लिग वानमा उनले २० खेलमा १३ गोल र ११ असिस्ट प्रदान गरेका छन् ।