काठमाडाैं – अमेरिकाले आफ्नो आकाशमा उडिरहेको अर्को एउटा शङ्कास्पद मानवरहित वस्तुलाई खसालेको बताएको छ । अमेरिकाले गएकाे नाै दिनमा चौथो शङ्कास्पद वस्तु खसालेको दाबी गरेको हो ।
राष्ट्रपति जो बाइडेनले हिजो आइतवार क्यानडाको सिमाना नजिक पर्ने ह्युरन तालमाथि उडिरहेको शङ्कास्पद वस्तु खसाल्न आदेश दिएका थिए । अमेरिकी अधिकारीहरूले त्यसलाई मानवरहित र सैन्य खतरा नभएको वस्तु भनेका छन् । अधिकारीहरूले यी वस्तुहरू कहाँबाट आएका थिए वा ती वस्तुको उद्देश्य के थियो भन्ने कुरा पहिचान भइनसकेको बताएका छन् ।
चार वटामध्ये सुरुमा खसालेको बेलुन भने चिनियाँ जासुस बेलुन रहेको अमेरिकाले बताएको छ । त्याे बेलुनलाई लिएर अमेरिकाले चीनको आलोचना गर्दै आएको छ ।
यसैबीच चीनले बेलुनको विषयलाई लिएर अमेरिकाले अरूको आलोचना गर्नुभन्दा आत्मालोचना गर्नुपर्ने बताएको छ । आफ्नो मौसमी बेलुन बाटो बिराएर अमेरिकी आकाशमा पुगेको दाबी गर्दै चीनले यस विषयमा अमेरिकाले आत्मालोचना गर्नुपर्ने बताएको हो ।
नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले अमेरिकाले बेलुन खसालेर गल्ती गरेको बताउनुभयो । उनले गएको वर्ष अमेरिकाले आफ्नो आकाशमा १० वटाभन्दा धेरै बेलुन उडाएको दाबी पनि गरे।
अमेरिकाले आफ्नो आकाशमा आइपुगेको चिनियाँ बेलुन खसालेपछि दुई देशबीचको सम्बन्ध झनै तनावग्रस्त बनेको छ । ताइवानको विषयलाई लिएर चिसिँदै गएको सम्बन्ध सुधार्ने प्रयास भइरहेको बेला बेलुन काण्डले समस्या झनै बढेको हो । बीबीसी