काठमाडौं – फुटबलको सर्वोच्च संस्था फिफाले हालै सम्पन्न विश्वकप जितपछि अर्जेन्टिनी टिमले गरेको व्यवहारप्रति अनुसन्धान गर्ने भएको छ ।
फिफाले अर्जेन्टिनाका गोल किपर एमिलियानो मार्टिनेजले गोल्डेन ग्लोभ लिएपछि गरेको व्यबहारदेखि उनले फ्रान्सका किलियन एम्बाप्पेप्रति गरेको व्यंग्यसहितका घटनाको अनुसन्धान गर्ने जानकारी दिएको छ । फिफाले अर्जेन्टिनी खेलाडीहरुले अनुशासन उलंघन गरेको विषयमा छानबिन गर्ने बताएको छ ।
फिफाले आफ्नो विज्ञप्तिमा सम्भावित आर्टिकल ११ (गलत व्यबहार र फेयर प्लेको उलंघन) तथा आर्टिकल १२ (खेलाडी र अफिसियलको गलत व्यबहार) को अनुसन्धान हुने जनाएको छ ।
अर्जेन्टिनाले विश्वकप जितेपछि गरिएका सेलिब्रेसनका भिडियो इन्टरनेटमा निकै भाइरल भएका थिए । जसमा गोलकिपर मार्टिनेजले गोल्डेन ग्लोभ लिएपछि गरेको व्यबहार र अर्जेन्टिना पुगेपछि एम्बाप्पेको डल लिएर सेलिब्रेसनमा संलग्न भएको विषय बढी भाइरल भएको थियो ।
कुनै पनि नियम उलंघनमा दोषी पाइएमा अर्जेन्टिनी फुटबल फेडेरेसनलाई ठुलो जरिवाना हुनसक्ने बताइएको छ । त्यस्तै फिफाले इक्वेडर र सर्बियाको टिमले पनि नियम उलंघन गरेको आरोपमा जरिवाना गरिएको छ । त्यस्तै मेक्सिकोलाई एक लाख स्वीस फ्यांक जरिवाना गरिएको छ भने क्रोसियामाथि पनि छानबिन गर्ने बताइएको छ ।