शुक्रबार, जेठ ११, २०८१
Friday, May 24, 2024

काठमाडौं – फुटबलका महान खेलाडी पेलेको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि आज भिला बिलमिरो रंगशालामा राखिँदैछ। दाहसंस्कार गरिनु अघि पेलेलाई रंगशालमा गएर उच्च पदस्थ अधिकारी, खेलाडी, प्रशिक्षक र समर्थकले अन्तिम पटक श्रद्धाञ्जलि दिनेछन्। भिला बिलमिरो सान्तोष फुटबल क्लबको मैदान हो। पेलेको व्यावसायिक फुटबल करियर सान्तोषबाटै सुरु भएको थियो।

विश्व फुटबलको राजा उपनामले परिचित पेलेको क्यान्सरका कारण गत बिहीबार राति साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा निधन भएको थियो।पेलेको पार्थिव शरीरलाई रंगशाला लैजानु अघि अस्पतालमा समर्थकको भीड लागेको छ। यसअघिका राष्ट्रपति जाइर बोल्सोनारोले पेलेको निधनमा तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका थिए। बोल्सोनारोलाई प्रतिस्थापन गरेका लुइस इनासियो लुला दा सिल्भा पनि पेलेको श्रद्धाञ्जलि सभामा उपस्थित हुने बताइए पनि यकिन भने भएको छैन। रंगशालामा हजारौँ मानिस जम्मा हुने अनुमान गरिएको छ। ब्राजिलले राष्ट्रिय सम्पत्ति घोषणा गरेका पेले तीन पटकका फिफा विश्वकप विजेता हुन्। पेलेको भोलि दाहसंस्कार गरिने जानकारी दिइएको छ।

 

तपाईको प्रतिक्रिया