आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

टोकियो – जापानको राजधानी टोकियोमा ‘कमेडी एण्ड म्यूजिक कन्सर्ट–२०२४’ हुने भएको छ । पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानले आगामी जुलाई २८ तारिखका दिन टोकियोमा कन्सर्ट आयोजना गर्न लागेको हो ।

कन्सर्ट ‘समुदायमा शिक्षा’ तथा ‘विपन्न कृषि व्यवसाय प्रोत्साहन कार्यक्रम’ सञ्चालनार्थ आयोजना गरिएको संस्थाले जनाएको छ । पूर्वी नेपाल विकास सहकार्य केन्द्रले प्रस्तावनामार्फत सम्पूर्ण कुराको जानकारी दिएको छ ।

समुदायमा शिक्षा अभियान सञ्चालनका लागि पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापान मातहतमा एउटा छुट्टै स्वतन्त्र संरचना बनाइने छ भने आधारभूत विद्यालय तहमा बढी विद्यालय छाड्ने समुदायको पहिचान र छनोट गरी कार्यक्रम लागू गरिने छ । स्थानीय सरकार र विद्यालयसँग समन्वय गरेर अतिरिक्त क्रियाकलाप, खेलकुद, स्वास्थ्य र सरसफाइ सम्बन्धी जीवनोपयोगी सिकाइलाई महत्त्व दिइने संस्थाको भनाई छ ।

विपन्न कृषि व्यवसाय प्रोत्साहन कार्यक्रमअन्तर्गत केन्द्रले सिधै वा स्थानीय संघसंस्था तथा क्लबसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिनेछ । जसअनुसार अति विपन्न ३० परिवारलाई पशुपालन गर्न १५ हजारसम्म सहयोग गरिने छ । २ वर्षपछि सहयोग प्राप्त परिवारले एक नयाँ परिवारलाई आफूले लिएको सहयोग संख्याको पाठो सहयोग गर्नुपर्ने कार्यक्रमको ढाँचा हुने केन्द्रले उल्लेख गरेको छ ।

कन्सर्ट कार्यक्रम नाकानो जिरो हलमा बेलुका ५ बजेदेखि ९ बजेसम्म हुनेछ । जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी प्रमुख अतिथि रहने कन्सर्टमा कलाकारहरू मनोज गजुरेल, एलिना चौहान, विष्णु सापकोटा र डिजराज पौडेलको प्रस्तुति रहनेछ । यसका साथै जापानमा रहेका नेपाली कलाकार र जापानी ब्याण्डहरुको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया