काठमाडौं – ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पराजित भएका जैर बोल्सोनारोले देश छोडेका छन् । उनी वामपन्थी नेता लुइज इनासियो लुला डे सिल्भासँग पराजित भएका थिए । उनले लामो समयसम्म आफ्नो हार स्वीकार नगरेपनि अहिले बोल्सोनारोले ब्राजिल छोडेको कुरा बाहिर आएको छ ।
उनी गत शुक्रबार अमेरिका प्रस्थान गरेका थिए । उल्लेखनीय कुरा के छ भने ब्राजिलबाट उनको प्रस्थान यस्तो समयमा भएको हो जब नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले जनवरी १ मा पदभार ग्रहण गर्नेछन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार ब्राजिलबाट प्रस्थान गर्ने क्रममा उनलेआफु छिटै फर्किने बताएका थिए । उड्नुअघि उनले आफ्नो बयान मार्फत आफ्नो विरासतको रक्षा गर्ने प्रयास गर्दै आफ्ना समर्थकहरूलाई लुलाविरुद्धको लडाई जारी राख्न प्रेरित गरेका छन् ।
ब्राजिल छाड्दा जायर बोल्सोनारोले आफू कहाँ जाँदै थिए भन्ने जानकारी दिएका थिएनन् । यद्यपि, उनको उडान ट्र्याकिङ डेटाले उनी फ्लोरिडा गएको देखाएको छ । जहाँ उनका सुरक्षाकर्मीहरू पहिले नै उपस्थित छन् । फ्लाइटअवेयर नामक वेबसाइटका अनुसार राष्ट्रपतिको विमान ब्राजिलियाबाट ओर्लान्डो, फ्लोरिडाका लागि स्थानीय समय अनुसार दिउँसो २ बजे प्रस्थान गरेको थियो ।
आफ्नो हार स्वीकार गर्न अस्वीकार गर्दै, उनले ब्राजिलको लोकतान्त्रिक परम्परा तोड्दै आइतवारको उद्घाटन समारोहमा लुलालाई औपचारिक राष्ट्रपति रिबन प्रदान नगर्ने धेरै पटक भनेका थिए । उपराष्ट्रपति ह्यामिल्टन मोराओ अब कार्यवाहक राष्ट्रपति छन् । उनको प्रेस कार्यालयले बोल्सोनारोले देश छोडेको पुष्टि गरेको छ ।
कार्यालयका प्रवक्ताले जानकारी दिँदै आफू कार्यवाहक राष्ट्रपति भए पनि मोराओले लुलालाई राष्ट्रपतिको औपचारिक रिबन प्रदान नगर्ने बताए । यस्तो अवस्थामा वामपन्थी नेतालाई औपचारिक रिबन कसले दिने भन्ने प्रश्न उठिरहेको छ ।