काठमाडौँ – पाँच पटकको विश्वविजेता ब्राजिल कतार विश्वकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । पेनाल्टी सुटआउटमा क्रोएसियासँग पराजित हुँदै ब्राजिल घर फर्किने भएको हो ।
ब्राजिलले १९५८, १९६२, १९७०, १९९४ र २००२ मा विश्वकप उपाधि जितेको थियो । २० वर्षपछि पुनः विश्वकपको अर्को उपाधि जित्ने ब्राजिलको सपना हारसँगै चकनाचुर भएको छ ।
एजुकेसन सिटी रंगशालामा शुक्रबार राति भएको खेलमा ब्राजिलका दुई खेलाडीले पेनाल्टी मिस गर्दा क्रोएसिया ४–२ गोल अन्तरले विजयी भयो ।
यसअघि सेमिफाइनल प्रवेशका लागि भएको निर्धारित ९० मिनेटको खेल गोलरहित भएको थियो । त्यसपछि अतिरिक्त समयमा पनि १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको हो ।
अतिरिक्त समयमा ब्राजिलका लागि नेयमारले अग्रता दिलाएका थिए । तर, खेलको ११७ औं मिनेटमा क्रोएसियाका ब्रुनोले गोल गर्दै टीमलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि दुबैतर्फबाट गोल हुन नसकेपछि खेलको छिनोफानो पेनाल्टीमार्फत गरिएको हो । जितसँगै सेमिफाइनल प्रवेश गरेको क्रोएसिया अघिल्लो विश्वकपको उपविजेता समेत हो ।