काठमाडौँ – नेपाल र युएईबीच जारी तीन खेलको एकदिवसीय सिरिज नेपालले २–१ ले आफ्नो पक्षमा पारेको छ। शुक्रबार भएको प्रतियोगिताको अन्तिम खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै घरेलु मैदानमा पनि सिरिज आफ्नो पक्षमा पार्यो। यसअघि नेपालले २०१९ मा यूएईलाई उसकै घरेलु भूमिमा पराजित गर्दै सिरिज २–१ ले जितेको थियो।
पहिलो खेल युएईले जिते पनि त्यसपछिका लगातार दुई खेलमा नेपालले जित हासिल गर्दै सिरिज आफ्नो पक्षमा पार्न सफल रह्यो। शुक्रबार भएको अन्तिम तथा निर्णायक खेलमा युएइले टस हारेर पहिलो ब्याटिङ गर्दै १ सय ७६ रन बनाएको थियो। जवाफमा नेपालले उक्त लक्ष्य ४०।१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।
नेपालको जितमा ज्ञानेन्द्र मल्ल र आसिफ शेखले सानदार अर्धशतक बनाए। उनीहरुले दोस्रो विकेटका लागि १ सय २२ रनको साझेदारी गरेका थिए। ज्ञानेद्र ६४ रनमा आउट हुँदा उनले एकदिवसीय अन्तराष्ट्रियमा पाँचौ अर्धशतक प्रहार गरेका थिए। त्यस्तै आसिफले ८८ रनमा अविजित रहे। आसिफको यो एकदिवसीय अन्तराष्ट्रियमा सातौँ अर्धशतक हो। त्यस्तै कप्तान रोहित पौडेल १० रनमा आउट भए।
त्यसअघि पहिलो ब्याटिङ गरेको युएईले खराब सुरुवातका बाबजुत समालिएर १ सय ७७ रनको लक्ष्य दिएको थियो। युएईका लागि आयन अफ्जाल खान र हजरत बिलालले १० औँ विकेटका लागि ८३ रनको साझेदारी गर्दै युएईलाई समानजनक स्कोरमा पुर्याएका थिए। यी दुईले एकदिवसीय अन्तराष्ट्रियमा १० औँ विकेटका लागि चौथो ठूलो साझेदारी गरेका हुन्। त्यसअघि युएईले ९३ रन जोड्दा ९ विकेट गुमाएको थियो।
युएईका लागि खानले ५४ रनको अर्धशतकीय अविजित इनिङ खेल्दा उनलाई हजरतले २० रनमा साथ दिए। त्यस्तै अलसान सरउफले ३३ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा रोहन मुस्ताफाको २४ र ओपनर मुहम्मद वासिमको ११ रन रह्यो। नेपालका लगि गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान २–२ विकेट लिए। त्यस्तै ललित राजवंशी र सोमपाल कामीको नाममा १–१ विकेट रह्यो।