काठमाडौं – नेपालमा विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण हेर्न अतिरिक्त शुल्क तिर्नु पर्ने भएको छ । बुधबार न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासमा यस अघिको अल्पकालीन अन्तरिम आदेशलाई खारेज गर्दै शुल्क लिन पाउने निर्णय गरेको हो ।
अधिवक्ता किशोर पौडेललगायतले मिडिया हबको फिफा विश्वकप हेर्न अतिरिक्त शुल्क लाग्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
यसअघि कार्तिक २२ गते रिटमा प्रारम्भिक सुनुवाइ पछि न्यायाधीश प्रकाशमान सिहं राउतको एकल इजलासले मिडिया हबको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
सर्वोच्चको यो आदेशसँगै मिडिया हबले अब विश्वकपको प्रत्यक्ष प्रशारण गरे बापत प्रति सेटअप बक्स ५०० अतिरिक्त शुल्क लिन पाउने भएको छ । मङ्सिर ४ गतेदेखि कतारमा हुने विश्वकप फुटबलको नेपाल प्रशारण हिमालय टिभीले गर्दै छ ।