काठमाडौं – तीनपटकको विश्व च्याम्पियन पेलेले आसन्न कतार विश्वकप फुटबल प्रतियोगिता ब्राजिलियन राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूलाई आत्मविश्वास दिलाइरहेका छन् ।
कतारको भूमिमा आयोजना हुने विश्वकपमा ब्राजिलले छैटौँपटक ट्रफी उचाल्न सक्ने पेलेले दाबीसमेत गरेका छन् । ‘म ब्राजिल छैटौँपटक विश्व च्याम्पियन भएको हेर्न चाहन्छु, यो समय अब धेरै टाढा छैन,’ पेलेले स्थानीय एजेन्सीहरूसँग कुराकानी गर्दै भनेका छन्, ‘हामी दुई दशकपछि च्याम्पियन हुन्छौँ ।’
सन् २००२ मा एसियन भूमिमा आयोजना भएको विश्वकपमा ब्राजिलले पाँचौँपटक विश्वकप ट्रफी उचालेको थियो । जापान र दक्षिण कोरियाले संयुक्त रूपमा पहिलोपटक आयोजना गरेको विश्वकपमा ब्राजिलले जर्मनीलाई हराउँदै उपाधिमाथि कब्जा जमाएको थियो । त्यसयता ब्राजिलले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन । यो दुई दशकमा ब्राजिल फाइनलसम्म पुगेको छैन । ब्राजिल अन्तिमपटक सेमिफाइनलमा पुगेको सन् २०१४ को संस्करणमा थियो । घरेलु मैदानमा आयोजित विश्वकपमा ब्राजिल जर्मनीबाट ७-१ ले पराजित भएको थियो ।
एसियन भूमि लक्की
पछिल्लो समय पेले स्वास्थ्यका कारण सोसेल मिडिया तथा सञ्चारमाध्यमसँग नजिक छैनन् । तर, यसपटक उनले आफ्नो जीवनमै ब्राजिल पुनः एकपटक च्याम्पियन भएको देख्ने इच्छा भएको कुरा बताए । उनी भन्छन्, ‘आज म यहाँ खेलाडीहरूको आत्मविश्वास दिलाउन उपस्थित भएको छु, ब्राजिलियन टोलीका सबै खेलाडीहरूलाई गुड लक भन्न चाहन्छु ।’
यसपटक पेलेले ब्राजिलियन टोलीलाई एसियन भूमि लक्की भएको जनाएका छन् । ‘ब्राजिलले अन्तिमपटक विश्वकप जितेको एसियामै थियो, यसपटक पनि विश्वकप एसियाको मैदानमै हुँदै छ, यस कारण यसै टोलीले छैटौँपटक उपाधि जित्नेछ,’ पेलेले दाबी गर्दै भने, ‘मलाई विश्वास छ, खेलाडीहरू पनि यसका लागि तयार छन् ।’
युवा तथा सिनियर खेलाडीले भरिएको ब्राजिलियन टोलीलाई दबाबमा नलिन उनको आग्रह छ । ‘कतिपय संस्करणमा खेलाडीहरूले अनावश्यक दबाब आफूमाथि राख्दा पराजित भएको देखे, यसपटक खेलाडीहरूलाई भय र दबाबरहित प्रतिस्पर्धा गर्न आग्रह छ,’ उनले भने, ‘विश्वकप जित्ने लक्ष्य राखी प्रतिस्पर्धा गर्नुपर्छ ।’
युवा र सिनियर टोली
गत सोमबार प्रशिक्षक टिटेले पिएसजीका स्टार नेमार जुनियर, आर्सनलका ग्राबियल जिजस र म्यानचेस्टर युनाइटेडका कासिमेरासँगै फ्रेडसहितको टोली घोषणा गरेका थिए । ८२ वर्षीय पेलेले सन् १९५४, १९६२ र १९७० को विश्वकप जितेका थिए । विश्व फुटबलमै पेले सर्वकालीन उत्कृष्ट खेलाडीका रूपमा रहेका छन् । ब्राजिलको पहेलो रङको जर्सीमा ६ वटा तारा छिट्टै थपिने उनले बताए । केही साताअघि विश्वकपमा खेल्ने जर्सी सार्वजनिक गर्ने कार्यक्रममा उनी पुगेका थिए ।