काठमाडौं – फिफा विश्वकप फुटबल-२०२२ प्रतियोगिताको आयोजक राष्ट्र कतारले सहभागी खेलाडीदेखि समर्थकलाई कोभिड भ्याक्सिन अनिवार्य नभएको जनाएको छ । तर, ४८ घन्टाअगाडिको पिसिआर परीक्षण रिपोर्ट अनिवार्य भएको कतारले जनाएको छ ।
४ मंसिरदेखि कतारको दोहामा विश्वकप प्रतियोगिता आयोजना हुँदै छ । पछिल्लो तीन वर्षमा आयोजना भएका ठूला अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा आयोजकले कोरोनाविरुद्धको भ्याक्सिन अनिवार्य बनाएका थिए । ती प्रतियोगितामा सहभागी हुन वा दर्शकका रूपमा प्रवेश पाउन ठूलै समस्या आएको थियो ।
गत वर्ष जापानको टोकियोमा भएको ओलम्पिक खेलकुदमा विभिन्न प्रक्रिया पूरा गरेपछि मात्र खेलाडी र अफिसियलले भिसा पाएका थिए । कतार विश्वकपमा पनि यस्तै समस्या भोग्नुपर्ने होइन ? यस्तै प्रश्न उठेको छ । तर, कतारले सबैलाई सहज बनाउन भ्याक्सिन आवश्यक नभएको स्पष्ट पारेको छ ।
आयोजक कतारले नियमित कोभिड-१९ को परीक्षण गर्नुपर्ने जनाएको छ । यति मात्र नभएर खेलाडीसँगै आउने परिवारले पनि कोभिड–१९ विरुद्धको भ्याक्सिन आवश्यक नभएको कतार स्वास्थ्य मन्त्रालयले जनाएको छ ।