काठमाडौं – अपराजित रहेर साफ यू१५ महिला च्याम्पियनसिपको च्याम्पियन बनेको नेपाली युवा महिला राष्ट्रिय टोली आज (शनिबार) स्वदेश फर्कदैछ । नेपाली टोली शनिबार साँझ ५ः४० बजे हिमालयन एअरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
नेपालले शुक्रबार बंगलादेशको ढाकास्थित बीएसएसएसएमके स्टेडियममा राउन्ड रोविन लिगको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै अपराजित रहेर च्याम्पियन बन्न सफल भएको हो । नेपालको लागि सुशिला केसीले गोल गर्दा बंगलादेशकी रुमा अख्तेरले बराबरी गोल फर्काएकी थिइन् ।
खेलको अन्तिम समयमा बंगलादेशले पेनाल्टी पाएपनि जोएनब बिबी रिताको पेनाल्टीलाई कप्तानको जिम्मेवारी समेत निर्वाह गरेकी सुजताले तामाङले बचाउँदै नेपाललाई सम्भापवत हारबाट जोगाएर च्याम्पियन बनाइन् । उनी नै च्याम्पियनसिपको उत्कृष्ट गोलरक्षक चुनिइन् । उनले राउन्ड रोविन लिगको सबै चार खेल खेल्दा तीन खेलमा क्लिनसिट राखिन् ।
महिला फुटबलमा नेपालको यो पहिलो उपाधि हो । यसअघि नेपाली महिला टोलीले उमेर समूह या सिनियर साफ च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुद (साग) मा उपाधि जित्न सकेको छैन ।
तीन राष्ट्रको मात्रै सहभागिता भएपछि डबल राउन्ड रोविन लिगको आधारमा भएको च्याम्पियनसिपमा नेपालले चार खेलबाट १० अंक जोड्यो । बंगलादेशले ७ तथा भुटान गोल र अंकविहीन बन्यो ।
नेपालले पहिलो खेलमा भुटानलाई ७–० र दोस्रो खेलमा बंगलादेशलाई १–० ले र अर्को खेलमा भुटानलाई १–० ले हराएको थियो । टोलीको प्रशिक्षकमा भगवती राना मगर, सहायक प्रशिक्षकमा मंगल महर्जन, गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरी, फिजियोमा सरिता बजगाईं र व्यवस्थापकमा पूर्ण माया सुब्बा लिम्बू छिन् ।
नेपाली टोली :
गोलरक्षक : राधिका ओली, सुजाता तामाङ र रुपा धिमाल
डिफेन्डर : सिता रोकाया, अमिता भुल, दीपा मगर, अन्जना पुन मगर, प्रेरणा डोल्मा लामा, रेणु लिम्बु र विपना स्नेही
मिडफिल्डर : सिमरन राई, पुनम चेम्जोङ, भावना परियार, सविता मण्डल, भूमिका बुढाथोकी, सुशिला केसी, सुक्रिया मिया, रेबिका नेपाली र मनिषा सेन
फरवार्ड : दीपा रोकाया, समिक्षा मगर, वर्षा ओली र सेनु परियार