काठमाडौँ – कतारमा नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म आयोजना हुने विश्वकप फुटबल फिफा विश्वकपको २२ औँ संस्करण हो । हालसम्म इस्ट जर्मनीसहित ८० टिमको विश्वकपमा सहभागिता भइसकेको छ ।
ती मध्ये सबैभन्दा बढी तथा सबै विश्वकपमा सहभागिता जनाउने टिम भने ब्राजिल हो । कतारमा हुने २२औँ संस्करणका विश्वकपमा ब्राजिलले सहभागिता जनाउँदा उसले २२ औँ पटक नै विश्वकप खेल्नेछ । ब्राजिलले सन् १९३० मा आयोजना भएको पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ । त्यसैगरी, ब्राजिलले सर्वाधिक ५ पटक विश्वकपको उपाधिसमेत जितेको छ ।
सबैभन्दा धेरै पटक विश्वकपमा सहभागिता जनाउने दोस्रो स्थानमा भने जर्मनी रहेको छ । जर्मनीले २० औँ पटक विश्वकपमा सहभागिता जनाउँदैछ । जर्मनीले भने ४ पटक विश्वकपको उपाधि हात पारेको छ । जर्मनी पछि अर्जेन्टिना र इटालीले समान १८-१८ पटक विश्वकपमा सहभागिता जनाउँदैछन् । तर अर्जेन्टिनाले केवल दुई पटक विश्वकप जित्दा इटालीले भने ४ पटक उपाधि हात पारिसकेको छ ।
त्यसपछि मेक्सिकोले भने १७ औँ पटक विश्वकपमा सहभागिता जनाउन लागेको छ । मेक्सिकोले भने अहिलेसम्म उपाधि भने जित्न सकेको छैन । उसको सबैभन्दा उत्कृष्ट नतिजा भनेको क्वार्टरफाइनल पुग्नु हो । यता स्पेन, फ्रान्स र इंग्ल्यान्डले समान १६-१६ पटक विश्वकप खेल्दैछन् । स्पेन र इंग्ल्यान्डले समान एक-एक पटक विश्वकप जित्दा फ्रान्सले भने दुई पटक विश्वकपको ट्रफी उचालेको छ ।
उरुग्वे र बेल्जियमले समान १४-१४ पटक विश्वकपमा सहभागिता जनाउँदैछन् । तर उरुग्वेले भने दुई पटक विश्वकपको उपाधि हात पार्दा बेल्जियमको सबैभन्दा उत्कृष्ट नतिजा भनेको तेस्रो हुनु हो । यता इस्ट जर्मनीसहित २० टिमले एक पटक विश्वकप खेलेका छन् वा खेल्दैछन् ।
यो पनि पढ्नुहोस :