टोकियो – जापानी वैज्ञानिकहरू ल्याबमै पूर्ण परिपक्व कपाल उमार्न सफल भएका छन् । योकोहामा नेशनल युनिभर्सिटी समेतका अनुसन्धानकर्ताहरू मिलेर मुसा प्रयोग गरेर कपालको जरा सफलतापूर्वक उमार्न सफल भएका हुन् ।
अनुसन्धानमा कपाल उमार्न अनुसन्धानकर्ताहरूले मुसाको छालामुनिको अर्गनोइड्स (कोषहरूको समूह) लिएका थिए । कपाल उमार्न यसलाई उनीहरूले शिशाको सानो प्लेटजस्तो भाडामा राखेका थिए । ल्याबमा कपालको जरासमेत निश्चित लम्बाइमा कपालको रेशा बढेको यो पहिलो पटक भएको योकोहामा नेशनल युनिभर्सिटीमा बायो-माइक्रोसिट ल्याब हेर्ने प्राध्यापक जुन्जी फुकुदाले भनेका छन् ।
अनुसन्धानको नतिजा पनि अहिलेसम्मकै धेरै सुसंगत भएको उनले बताए । अनुसन्धानको नतिजा अक्टोबर २१ मा अमेरिकन जर्नल साइन्स एड्भान्सेसमा सार्वजनिक गरिएको छ । अनुसन्धाताहरूले कालो मुसाको भ्रुणबाट कपालको जरामा परिणत हुने दुई खालको भ्रुण कोषिकाहरू लिएका थिए । यी कोषहरूलाई एकअर्का बाँध्न प्रयोग गरिने कल्चरमा डुबाएका थिए । चौथो दिनमा कपालको जरा हल्का टुसायो । ६ देखि १० दिनमा नयाँ कपाल नै उम्रेकाे देखियो । २३ औं दिनसम्म कपाल झन्डै ३ मिलिमिटर लामो बन्यो ।
अनुुसन्धानकर्ताहरूले अर्गनोइड्सलाई कपाल नै नभएको मुसामा प्रत्यारोपण गरेका थिए । एक वर्षको अवधिमा जराबाट पूरै कपाल निर्माणको पूरा चक्र देखियो । त्यसबाट कपाल बढ्ने र झर्ने दुवै क्रम देखियो । यसले मानव कोषमा पनि यस्तै खालको प्रयोग गर्न सकिने आशा बढाएको छ ।
मानव कोषमा पनि यस्तो खालको परीक्षण सफलतापूर्वक गर्न सके कपाल झर्नेजस्ता समस्याको निराकरणमा उपलब्धि हुन सक्छ । मानव कोषमा यस्तै खालको कपालको जरा उमार्न चुनौती हुने सक्ने चेतावनी उनीहरूले दिएका छन् ।
फुकुदाका अनुसार अमेरिकी वैज्ञानिकहरूले मानव शरीरबाट लिइएको प्लुरिपोटेम स्टेम कोषमा सफलतापूर्वक कपाल उमारेर यसलाई मुसामा प्रत्यारोपण गरेका थिए । तर, यसमा सुरक्षा र यस्तो खालको कोषलाई मानवमा प्रत्यारोपणका सम्भाव्यतामा समस्या रहेको बताइएको छ । –आर्थिक अभियानबाट