काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले सहज जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले अल्मेरियालाई २–० गोल अन्तरले पराजित गरेको हो ।बार्सिलोनालाई जित दिलाउनको लागि औसमाने डेम्बेले र फ्रान्की डि जोङले समान एक–एक गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । पहिलो हाफको सातौं मिनेटमा रोबर्ट लेवानडोस्की पेनाल्टीमा चुक्दा बार्सिलोना अग्रता लिन सकेन ।
त्यसपछि बार्सिलोनाले गोलको लागि दोस्रो हाफ नै कुर्नुप-यो । ४८औं मिनेटमा डेम्वेलेले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । ६२औं मिनेटमा फ्रान्की डि जोङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल बार्सिलोनाले जित्यो ।
यस जितसँगै बार्सिलोना १३ खेलबाट ३४ अंक जोडेर शीर्षस्थानमा उक्लन सफल भएको छ । बार्सिलोनाले एक खेल कम खेलेको रियल म्याड्रिडलाई २ अंकले पछि पारेको छ । १२ खेलबाट रियलको ३२ अंक छ । पराजित अल्मेरिया १३ अंक जोडेर १५औं स्थानमा छ ।