काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मंगलबार सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशविरुद्ध १० विकेटको सहज जित हासिल गरेको छ । मूलपानी क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको ६८ रनको सामान्य लक्ष्य एपीएफले ११.२ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो । एपीएफको जितमा ओपनरद्वय आशिफ शेख र प्रदीप ऐरीले अविजित क्रमशः ४२ र २५ रन जोडे ।
यसअघि, एपीएफका भुवन कार्कीले चार विकेट लिएपछि टस हारेर ब्याटिङमा निम्त्याइएको सुदूरपश्चिम २७ ओभरमा ६७ रनमै समेटिएको थियो । सुदूरपश्चिमका कप्तान राजु रिजालले २४ रन बनाउनुबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
सुदूरपश्चिमलाई सस्तैमा समेट्न चार विकेट लिएका भुवनले नौ ओभरमा एक मेडन राख्दै २२ रन खर्चिए । कमलसिंह ऐरी र मौसम ढकालले समान दुई विकेट लिँदा किशोर महतो र अमरसिंह रौटेलाले एक÷एक विकेट लिए ।
सात प्रदेश र तीन विभागीय टिमसहित १० टोलीको सहभागिता रहेको प्रतियोगितामा एपीएफको यो दोस्रो जित हो । एपीएफले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई ५६ रनले पराजित गरेको थियो । सुदूरपश्चिमको भने यो दोस्रो हार हो । सुदूरपश्चिम पहिलो खेलमा गण्डकी प्रदेशसँग ६९ रनले पराजित भएको थियो ।