काठमाडौँ — अस्ट्रेलियाले ट्वान्टी-२० विश्वकपको मंगलबार भएको खेल जित्दै सुपर–१२ को पहिलो जित हात पारेको छ । ग्रुप–वानको खेलमा अस्ट्रेलियाले श्रीलंकालाई सजिलै सात विकेटले पराजित गरेको छ ।
डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया यो चरणको पहिलो खेलमा न्युजिल्यान्डसँग हारेपछि दबाबमा रहेको थियो । जितका लागि १ सय ५८ रन पछ्याएको अस्ट्रेलियाले १६.३ ओभर मात्र उपयोग गर्दै तीन विकेट गुमाएर विजयी रन बटुल्यो ।
अस्ट्रेलियाका लागि मार्कस स्टोइनसले आक्रामक हुँदै १८ बलमा ५९ रन बनाए र नटआउट पनि रहे । उनले चार चौका र छ छक्का प्रहार गरे । उनी ‘प्लेयर अफ द म्याच’ पनि रहे ।यस्तै एरोन फिन्चले ३१ र ग्लेन म्याक्सवेलले २३ रन बनाए ।
अस्ट्रेलियाले टस जितेर श्रीलंकालाई पहिले ब्याटिङको निम्तो दिएको थियो र यसक्रममा उसले ६ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । त्यसमा प्रारम्भिक ब्याटर पथुम निसान्काले बनाएको ४० रन नै सबैभन्दा उच्च व्यक्तिगत स्कोर रह्यो ।