काठमाडौं – टुकुचा खोलामाथि बनेका केही घर तत्काल नभत्काउन भनी उच्च अदालत पाटनले आइतबार अल्पकालीन अन्तरिम आदेश जारी गरे पनि टुकुचामाथिका अनधिकृत अन्य संरचना भत्काउने कदम नरोकिने महानगरले जनाएको छ । महानगरले नदीमाथि बनेका घरटहरा भत्काउन बिहीबारदेखि डोजर चलाएपछि टुकुचासँग जोडिएका घरधनीले शुक्रबार नै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । उक्त रिटको सुनुवाइ गर्दै उच्च अदालत पाटनले तत्काल ती संरचना नहटाउन आदेश जारी गरेको हो ।
जयनेपाल हलस्थित पे्रसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिका भोलाविक्रम थापा, उत्तरमान लामासमेतले शुक्रबार रिट दायर गरेका थिए । अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेलका अनुसार ०३८ मा महानगरबाट इजाजतपत्र लिएर घर निर्माण गरेको, नक्सापास र निर्माण सम्पन्न पत्र पनि महानरले लिइसकेको अवस्थामा संरचना भत्काउन लागेको भन्दै रिट दायर भएको थियो । उच्च अदालत पाटनले बिहीबार दोहोरो छलफलका लागि विपक्षी महानगरपालिका र निवेदकलाई पेसी तोकेको छ ।
रिटमा टुकुचामाथिका सबै घर नभत्काउनु भनिएको छैन । तर, महानगरले भने अदालतको स्टे अर्डरको समय नसकिँदासम्म खाली भागमा मात्रै टुकुचा खोतल्ने जनाएको छ । त्यसका लागि कमलादीदेखि जयनेपाल हलसम्मको खोलामा रातिमा समेत काम गर्न महानगरले बत्ती जडान गरेको छ । बिहीबार पेसी तोकेकाले त्यहाँ छलफलका लागि महानगर उपस्थित हुने र उक्त दिनसम्म व्यक्तिका घरभन्दा पनि खाली रहेको भागमा टुकुचा खोतल्ने महानगरका प्रवक्ता नवीन मानन्धरले बताए ।
मानन्धरले अदालतको स्टे अर्डर माने पनि कामचाहिँ नरोकिने जानकारी दिए । स्टे अर्डरका कारण व्यक्तिको घरमा डोजर नहाने पनि खाली ठाउँमा पुरिएको टुकुचा खोतल्ने उनको भनाइ छ । ‘बागमती बग्न पाउँछ, विष्णुमती बग्न पाउँछ अनि इच्छुमती बग्न नपाउने कुरा हुन्छ ?’ उनले भने, ‘अदालतको स्टे अर्डर मान्छौँ, तर अदालतले टुकुचा खोला खुला गर्नुपर्छ भन्नेमा पनि त सोच्नुपर्यो नि ।’ आदेशमा उचित क्षतिपूर्ण नदिई भत्काउने कार्य नगर्नु भनिएको छ ।
तिनकुने र थापागाउँका अवैध संरचनामा डोजर
काठमाडौं महानगरपालिकाले आइतबार मुख्य तीन ठाउँका अनधिकृत संरचना भत्काएको छ । तिनकुनेस्थित बागमती करिडोर, जडीबुटी र थापागाउँमा महानगरले अवैध संरचना हटाएको हो । तिनकुनेस्थित बागमती नदीको फुटपाथमा बनेको एउटा टहरो महानगरले भत्काएको छ । अधिवक्ता रत्नेश्वर शर्माले घरसँगै जोडेर फुटपाथमा बनाएको टहरो महानगरले भत्काएको हो । त्यस्तै, जडीबुटीस्थित नन्दु दुलालले खडा गरेको टायर कारखाना पनि नगर प्रहरीले हटाएको छ । आइतबारै थापागाउँमा ६ मिटरको डिएल्डी (निर्देशित जग्गा विकास कार्यक्रम)मा भित्र परेका चारवटा घरका केही भाग महानगरले भत्काएको छ । मुआब्जा दिने गरी ती घर भत्काइएको महानगरका नगर प्रहरी इन्स्पेक्टर किशोरकुमार भट्टराईले जानकारी दिए ।
कमलादीस्थित सिद्धार्थ बैंकपरिसरमै टुकुचा
महानगरले आइतबार कमलादीमा रहेको सिद्धार्थ बैंकपरिसरको खाली भागमा आठ फिट खन्दा टुकुचा भेटिएको छ । त्यहाँ महानगरले दिनभर डोजर चलाएको थियो । तर, कमलादीकै दुई ठाउँमा भने डोजर छिर्न नसक्दा खोतल्न नसकिएको महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । उनका अनुसार कमलादीमा रहेको नेपाल इन्स्योरेन्सको कार्यालयनजिक र काठमाडौं प्लाजाको पछाडि ढलानका कारण डोजर छिर्न सकेन । यसअघि महानगरले जयनेपाल हल र लक्ष्मी बैंकपरिसरमा टुकुचा उत्खनन गरेको थियो । स्टे अर्डरबाहेकका संरचना र खोलामाथिको जमिनमा खोतल्ने कार्य नरोकिएको नगर प्रहरी प्रमुख पाण्डेको भनाइ छ ।
सस्तो र खुला बजारका लागि हामीकहाँ ठाउँ छैन
काठमाडौं महानगरपालिकाको क्षेत्रफल संरचनाले भरिएको छ । खाली ठाउँहरू निकै कम छन् । अब यहाँका सडक बिस्तारै खाली हुँदै छन् । तर, हिजो सडक र फुटपाथमा पसल थापेर बस्नेहरूलाई हामीले कडाइ गर्न सकेका थिएनौँ । अबचाहिँ महानगरभित्र अनधिकृत पसलहरू एउटा पनि रहनेछैन । त्यस्तै, खुला र सस्तो बजार भनेर हामीले छुट्टै ठाउँ तोक्दैनौँ । सटर वा महानगरलाई कर तिरेर नियमपूर्वक सञ्चालन भएका पसलहरू चल्छन् ।
सडकमा माग्न बस्नेलाई हटाइँदै
काठमाडौं महानगरपालिकाले महानगरभित्रका सडकमा माग्न बस्नेहरूलाई हटाउने तयारी गरेको छ । महानगरले धेरैजसो शारीरिक रूपमा अपांगता भएका व्यक्ति सडक र फुटपाथ नै छेकेर माग्न बसेकाले उनीहरूलाई हटाउन लागेको हो । यसका लागि महानगरलले नेपाल अपांग महासंघलाई पत्राचार पनि गरेको छ । यसबाहेक अन्य माग्न बस्ने व्यक्तिको तथ्यांक संकलन गरी उनीहरूको पृष्ठभूमि बुझेर परिवार सनाखत गर्ने र जिम्मा लगाउने तयारी गरेको छ । त्यस्तै, महानगरका सडकमा कतिपय संघ–संस्थाले पनि अपांगता भएका व्यक्तिलाई माग्नेका रूपमा प्रयोग गर्दै आइरहेका छन् । यी सबै तथ्य पत्ता लगाई सडकलाई माग्ने मानवमुक्त बनाउन लागिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । –नयाँ पत्रिकाबाट