काठमाडौं – शुक्रवारदेखि प्रदर्शन प्रारम्भ भएको दिनेश राउतद्वारा निर्देशित नेपाली फिल्म ‘प्रकाश’ प्रति दर्शकको क्रेज ह्वात्तै बढेको छ । शुक्रवार पहिलो दिन नै सिनेमा हलमा दर्शकको उल्लेख्य सहभागितापछि ‘प्रकाश’ का लागि क्यूएफएक्स च्यानलले पूर्व निधारित शोमा दोब्बरले बृद्धि गरेको छ । आफ्नो नेटवर्क रहेका देशभरका हलहरुमा शुक्रबारका लागि १३ शो दिएको क्यूएफएक्सले शनिबारका लागि २६ शो दिएको छ । यसमा काठमाडौं उपत्यका भित्र १३ शो तथा काठमाडौं उपत्यका बाहिर १३ शो निर्धारण गरिएको छ ।
क्यूएफएक्सले ‘प्रकाश’ का लागि अत्यन्त न्यून शो दिएपछि त्यसको चौतर्फि आलोचना भएको थियो । चलचित्रकर्मी तथा पत्रकारहरुले समेत क्यूएफएक्सको उक्त निर्णयको खुलेर विरोध गरेका थिए । विदेशी फिल्मलाई अत्यधिक शो दिएको क्यूएफएक्सले शुक्रबार आफ्नो च्यानलमा ‘प्रकाश’ को ८० प्रतिशत हाराहारिमा अकुपेन्सी भएको भन्दै शनिबारका लागि शो बढाएको हो ।शुक्रबार क्यूएफएक्स अन्र्तगत सिभिल मल लगायतका हलहरुमा ‘प्रकाश’ हाउसफूल भएको थियो । यसअघि अफ टाइममा बढी शो दिएको क्यूएफएक्सले शनिबारका लागि भने केही ब्यालेन्स गरेको देखिएको छ । निर्माण टिमले शुक्रबार देशभरमा फिल्मको अकुपेन्सी ५० प्रतिशत भन्दामाथि रहेको बताएको छ ।
प्रिमियरमा निकै प्रशंसा पाएको यो फिल्मले दर्शकबाट पनि उत्साहजनक प्रतिक्रिया पाइरहेको छ । आम सर्वसाधारण मात्र होइन विभिन्न पेशा ब्यवसायमा आवद्ध ब्यक्तिहरुले समेत यसलाई हेर्नै पर्ने फिल्म भएको प्रतिक्रिया दिएका छन् । फिल्मको माउथ पब्लिसिटी अब्बल भएकोले शनिबार अकुपेन्सी बढ्ने अनुमान गरिएको छ । यसअघि शुक्रबार प्रकाशको निर्माण टिमले पनि यो फिल्मलाई न्यून शो दिएको भन्दै रिपोर्टस क्लबमा पत्रकार सम्मेलन आयोजना गरेरै विरोध जनाएको थियो ।
फिल्मका अभिनेता प्रदीप खड्काले त प्रदर्शकले निर्माताको घाँटी निमोट्ने चेष्टा जारी राखे सार्वजनिक रुपमै काठमाडौंका ९ वटा एलइडिमा फिल्म प्रदर्शन गर्ने चेतावनीसमेत दिएका थिए । यसैबीच, काठमाडौंका अन्य मल्टीप्लेक्सहरुले समेत प्रकाशको शो बढाएका छन् । प्रारम्भदेखि नै उल्लेख्य शो दिएका बिग मुभिज, एफक्यूव, वान सिनेमा, आइएनआईलगायतका हलहरुले पनि शनिबारका लागि प्रकाशको शो थपेका छन् । निर्माता महेन्द्र अधिकारीका अनुसार शुक्रबारको अकुपेन्सी र माउथ पब्लिसिटी अब्बल भएका कारण हलहरुले शो थपेका हुन् ।
यो फिल्मले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट वर्गीय विभेदको कुरा पनि उठाइएको छ । यो फिल्मा प्रदीप खड्का, दीया मास्के, रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । विकास सुवेदीको लेखन रहेको यो फिल्म नेपालसहित विश्वका विभिन्न देशमा एकैसाथ प्रदर्शन भएको हो ।