काठमाडौँ – अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले फिल्म ‘प्रकाश’ हेर्दा प्रदीप खड्कालाई चिन्न नसकेको बताएकी छन् । ‘फिल्ममा प्रदीपलाई हेर्दा ऊ प्रदीप नै होर भन्ने लाग्यो । उसको बोलाई, हिँडाई हेर्दा त्यो रोमान्टिक हिरो त्यही नै होर भनेर सोच्न बाध्य बनायो’ दीपाले भनिन्–‘उसको अभिनय जीवन्त छ ।’ दीपाले फिल्म खासमा नेताहरुका लागि भएको सुनाइन् ।
दीपाले बुधबार आयोजित फिल्म ‘प्रकाश’ को प्रिमियरपछि प्रदीपको विषयमा यो धारणा राख्दै अभिनयको प्रशंशा समेत गरिन् । शुक्रबार प्रदर्शनमा आउने फिल्म ‘प्रकाश’ को बुधवार राजधानीमा आयोजित प्रिमियर जतिले फिल्म हेरे अभिनेता प्रदीपको अभिनयको तारिफ गरे ।
अभिनेता तथा निर्देशक खगेन्द्र लामिछानेले प्रदीपलाई यसप्रकारको क्यारेक्टरमा हेर्दा आफूलाई रमाइलो लागेको बताए । ‘ट्रेलर र टिजर हेर्दा नै म फिल्म हेर्न एकदमै आतुर थिएँ । कर्णालीभन्दा हामी धेरै टाढा छौं’ लामिछानेले भने ‘फिल्मले हामीलाई कर्णालीको जीवनमा लगिदिन्छ । यसप्रकारको मौलिकपन बोकेको फिल्म दर्शकहरुले हेर्नुपर्छ ।’
अभिनेत्री नम्रता श्रेष्ठले फिल्मको यात्रामा आफूलाई पनि अनुभूति गरेको बताइन् । कलाकारदेखि निर्देशकसम्म सबैको काम अब्बल लागेको उनको भनाई थियो । शुक्रबारबाट प्रदर्शनमा आउन लागेको जुम्लाको जनजीवनमा आधारित फिल्म ‘प्रकाश’ ले बुधबार बिग मुभिजमा प्रिमियर गरेको थियो । प्रिमियरमा अधिकांशले फिल्म मन परेको प्रतिक्रिया दिएका थिए ।
कार्यक्रममा अभिनेता विनय श्रेष्ठ, निर्माता सन्तोष सेन, अभिनेत्री सृष्टि श्रेष्ठ लगायतले पनि अभिनेता प्रदीपको अभिनयबाट आफू प्रभावित भएको बताए । अभिनेता सौगात मल्लले पनि प्रदीपको अहिलेसम्मकै उत्कृष्ट काम लागेको प्रतिक्रिया दिए । उनले भने– ‘प्रदीपको ‘प्रकाश’ मा उत्कृष्ट काम देखेँ । एकदमै राम्रो लाग्यो । दर्शकहरुले पनि फिल्म मन पराउनुहुन्छ होला ।’
कार्यक्रममा अभिनेता प्रदीपले भने सबैबाट पाएको प्रशंसाले मिहिनेत सफल भएको जस्तो लागेको बताए । ‘प्रायः फिल्मकर्मीको प्रतिक्रिया प्रदीप जस्तो देखिएन भन्ने थियो । मलाई पनि त्यो कुरा महसुस हुन्छ कि हुँदैन भन्ने डर थियो । सबैले प्रदीप जस्तो देखिएन भनेपछि म खुसी भएँ’ प्रदीप खुसी सुनिए ।
निर्देशक दिनेश राउतले प्रिमियरमा फिल्मकर्मीबाट प्राप्त प्रतिक्रियाले आफ्नो जिउमा काँडा उफ्रेको बताए । दर्शकबाट पनि यसप्रकारकै प्रतिक्रिया मिल्नेमा आस आफ्नो रहेको सुनाए । अभिनेता प्रदीप खड्का, अभिनेत्रीद्वय दीया मास्के र रेगु योगीको मुख्य भुमिका रहेको फिल्मले शिक्षक बन्ने सपना बोकेको एक युवकको संघर्षको कथा भनेको छ ।