काठमाडौँ – लामो समयदेखि भिडियो स्ट्रिमिङको संसारमा रजाइँ गर्दै आएको नेटफ्लिक्स अहिले समस्यामा परेको छ। अप्रिल र जुलाईको बीचमा करिब १० लाख सदस्यहरूले नेटफ्लिक्स छाडेसँगै समस्यामा परेकाे हाे।
यो त्रैमासिकमा सबैभन्दा धेरै अमेरिकी र क्यानडाका ग्राहकहरूले नेटफ्लिक्स छाडेका हुन्। त्यसपछि युरोपको नम्बर आउँछ। मंगलबार सार्वजनिक गरिएकाे प्रतिवेदनमा यति ठूलो संख्यामा ग्राहकहरूले प्लेटफर्म छाड्नु कम्पनीको इतिहासमा सबैभन्दा ठूलो भएकाे बताइएकाे छ।
नेटफ्लिक्सले धेरै वर्षदेखि विश्वभरका मानिसहरूलाई मनोरञ्जन गराउँदै आइरहेकाे छ। कोभिडकाे समयमा धेरै मानिसहरूले नेटफ्लिक्सको सदस्यता लिएका थिए। तर, अचेल भने नेटफ्लिक्सले फेरि कठिनाइहरूको सामना गरिरहेको छ।
कुनै समय नेटफ्लिक्सले पूरै भिडियो स्ट्रिमिङ बजार हल्लाएको थियो। तर, अहिले नेटफ्लिक्सले एप्पल टिभी, एचबिओ म्याक्स, अमेजन प्राइम र डिज्नी प्लसजस्ता कम्पनीहरूबाट कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ।
मूल्यवृद्धिको कारण घाटा
नेटफ्लिक्सले पनि पछिल्ला केही समयमा ग्राहकका लागि मूल्य बढाएको छ, जसकारण कम्पनीलाई नोक्सान भएको छ। अमेरिकामा दुईवटा डिभाइसमा एकैसाथ नेटफ्लिक्स चलाउन २०१९ मा ११ डलर लाग्दथ्याे। जुन २०२२ काे जनवरीमा बढेर १४ डलर र अहिले १५.४९ डलर पुगेको छ।
बेलायतमा पनि नेटफ्लिक्सले एक यूरो बढाएको छ। अब महिनाको लागि बेसिक योजना ६.७७ यूरो भएको छ भने स्ट्यान्डर्ड याेजना १०.९९ यूरो छ। जुनको अन्त्यसम्ममा कम्पनीका करिब २२ करोड ग्राहक थिए।