काठमाडौं – कार्यक्रम गर्ने भन्दै पारिश्रमिक लिएर कार्यक्रम नगरेको आरोपमा मुद्दा परेको विषयमा सांगीतिक समूह ‘नाइन्टी सेभेन्टी फोर एडी (१९७४ एडी)’ले खण्डन गरेको छ। समूहले विज्ञप्ति जारी गर्दै आफूहरुविरुद्ध परेको उजुरी झुटो भएको बताएको छ।
सांगीतिक समूहले आफूविरुद्ध मुद्दा परेको कुरा सञ्चारमाध्यममा प्रकाशित समाचारबाटै थाहा पाएको बताउँदै आरोप झुटो भएको बताएको छ। समाचारमा उल्लेख भएजस्तो करार पालना नगरेको भन्ने आरोप गलत भएको र आफूबाट कुनै प्रकारको धोका नभएको समूहले दाबी गरेको छ। केही दिनअघि उक्त सांगीतिक समूहविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा परेको छ। १९७४ एडी र समूहका प्रबन्धक सञ्जय श्रेष्ठविरुद्ध तीन लाख रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरिएको थियो।
सांगीतिक समूहले लण्डनमा २ घण्टासम्मको सांगीतिक कार्यक्रम गर्न कलाकार व्यवस्थापन तथा प्रदर्शन १९७४ एडीले गर्ने भन्दै आयोजक एचएबीअ मुभेन्ट लिमिटेडबीच भएको सम्झौताअनुसार कार्यक्रम नभएको भन्दै सांगीतिक समूहविरुद्ध मुद्दा दायर गरेको थियो।
गत चैतमा भएको उक्त सम्झौताकाअनुसार १९७४ एडीले १५ लाख रुपैयाँ पारिश्रमिकको रुपमा पाउने भनिएको थियो, जसको १० प्रतिशत रकम उनीहरुले पाइसक्दा पनि कार्यक्रम गर्नमा कुनै वास्ता नगरेको उजुरीमा उल्लेख छ। कार्यक्रमको विषयलाई लिएर सांगीतिक समूहले कुनै चासो नदेखाएको र ताकेता गर्दा पनि असार १० गते कार्यक्रम गर्न नआउने र पैसा पनि फिर्ता नगर्ने भनेपछि मुद्दा दर्ता गरिएको बताइएको छ।
तर, १९७४ एडीले भने आफूविरुद्ध लागेको आरोप र उजुरी झुटो भएको बताएको छ। उक्त आरोपविरुद्ध लड्न आफूहरुले कानुनी सल्लाहकार राखिसकेको र अदालतबाट आएको आदेशलाई सम्मान गर्ने विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तीमा भनिको छ, ‘हामी १९७४ एडीविरुद्ध पर्न गएको मुद्दाको बारेमा हामीले भर्खर सञ्चारमाध्यमबाट थाहा पायौं। त्यो समाचारमा लेखिएको कुनै पनि काम हामीबाट नभएको र हामीले कुनै पनि करार पालना नगरेको छैनौं र हामीविरुद्ध पर्न गएको यो झुटो उजुरीविरुद्ध लड्न कानुनी सल्लाहकार राखिसकेको र सम्मनित अदालतबाट आएको आदेशलाई मान्ने छौं भनी तपाईंहरु सबै शुभचिन्तकलाई खबर गर्न चाहन्छौं।’