शुक्रबार, जेठ ११, २०८१
Friday, May 24, 2024
तस्बिर : क्योदो न्युज

टोकियो – जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार गर्ने व्यक्ति पूर्व जलसेनाका जवान भएकाे खुलेकाे छ । पश्चिमी जापानको नारा सहरमा शुक्रवार सडकमा भाषण गरिरहेका आबेमाथि उनले गाेली प्रहार गरेका हुन् । आक्रमणकारी करिब ४० वर्षका छन् ।

गोली लागेपछि आबे भुइँमा ढलेका थिए । आक्रमणकारीको नाम तेत्सुया यामागामी रहेको बताइएको छ । उनले आबेलाई पछाडिबाट दुई गोली हानेका थिए । आक्रमणकारी पूर्वप्रधानमन्त्री आबेको धेरै नजिकै गएर गोली हानेका थिए । आबे सडकमा भाषण गरिरहेको बेलामा आक्रमणकारी उनको पछाडि नै उभिएका थिए ।

शिन्जो आबेले भाषण सुरु गरेलगत्तै आक्रमणकारीले उनीमाथि दुईवटा गोली हाने । दोस्रो गोली लागेपछि आबे भुइँमा ढलेका थिए । त्यसपछि कार्यक्रममा उपस्थित मानिसहरूले उनलाई सीपीआर दिने प्रयास गरे। आबे हाल अस्पतालमा भर्ना छन् ।

आक्रमणकारीले गोली हानेपछि पनि भाग्ने प्रयास गरेनन् । गोली हानेपछि उनी त्यहीँ ठाउँमा उभिइरहे । त्यसपछि नजिकैका मानिसहरुले उनलाई प्रहरीसमक्ष बुझाए । उनले किन यस्तो गरे भन्ने अहिलेसम्म खुलेको छैन । हाल प्रहरीले आक्रमणकारीलाई किन यस्तो गरेको हो भन्ने बारे सोधपुछ गरिरहेको छ । यससँगै घटनाको सबै कोणबाट अनुसन्धान थालिएको छ ।

 

तपाईको प्रतिक्रिया