काठमाडौं – नेपालमा फिल्मको प्रदर्शन तथा वितरण गर्नेहरुको छाता संगठन नेपाल चलचित्र संघको अध्यक्षमा वीरेन्द्रनारायण श्रेष्ठ निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न संघको ४७ औं वार्षिक साधारण सभाले श्रेष्ठलाई आगामी कार्यकालको नेतृत्वमा चयन गरेको हो । यो संगै श्रेष्ठले आगामी तीन वर्षसम्म संघको नेतृत्व सम्हाल्ने छन् ।
नेपाल चलचित्र संघको विधान अनुसार निर्वाचित अध्यक्षले कार्यकारीसहितका अन्य पदहरु आफैंले नियुक्त गर्नेछन् ।आज सोमबार अन्य पदहरुमा नियुक्त गर्ने तयारी अध्यक्ष श्रेष्ठको छ । नरेन्द्र महर्जनलाई संघको महासचिवमा नियुक्त गर्ने तयारी रहेको बुझिएको छ ।
संघको सदस्यहरुमा भने कुवेर शर्मा, गोपालकाजी कायस्थ, ओम जैसी, कपिल द्वा, भास्कर ढुंगाना, चैतन्य बराल, निरज कार्की, गोविन्द शाही, युवराज प्रसाईं, प्रज्ज्वल शमशेर जबरा, सुरेन्द्र थापा, राजकुमार श्रेष्ठ छन् । संघको पूर्वाञ्चल सभापतिमा निरज गुप्ता तथा पश्चिमाञ्जल सभापतिमा केदार पराजुली निर्वाचित भएका छन् ।