काठमाडौं – पञ्जावमा गोली हानी हत्या गरिएका भारतीय गायक सिद्धू मुसेवालाको हत्यारा खोज्न दिल्ली प्रहरीको एक टोली नेपाल आएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार घटनामा संलग्न केही सुटरको पहिचान भइसकेको र उनीहरु हत्यापछि नेपाल भागेको आशंका गरिएकाले दिल्ली प्रहरी नेपाल आएको हो ।
आइतबार साँझ पञ्जाबको मनसा जिल्लास्थित जवाहरेक गाउँमा एएन-९४ रुसी एसल्ट राइफल प्रहार गरी २८ वर्षीय गायक मुसेवाला हत्या भएको थियो । वास्तविक नाम शुभदीप सिंह सिद्धू भए पनि उनी भारतमा सिद्धू मुसेवाला नामले परिचित थिए । भारतीय सञ्चारमाध्यमका अनुसार उनको शरीरमा १९ राउन्ड गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । गोली प्रहारबाट घाइते भएपछि अस्पताल लाँदालाँदै उनको मृत्यू भएको थियो ।
गत डिसेम्बरमा मानसा क्षेत्रबाट उनी विधानसभाको निर्वाचनमा लडेका थिए । कांग्रेस आईबाट उम्मेदवारी दिएका उनी आम आदमी पार्टीका उम्मेदवारसँग पराजित भए । ‘सड्डा चलता है धक्का’, ‘डँलरा वाङ्गु नी नाम साड्डा चलदा है’ उनका चर्चित पञ्जावी गीत हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनको हत्याको जिम्मा कन्नडामा रहेको लरेन्स बिस्नोइका ग्याङस्टर लक्की अर्थात् गोल्डी बराडले लिएका छन् । यतिबेला भारतीय प्रहरीले महत्वका साथ यो घटनाको अनुसन्धान गरिरहेको छ ।