शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

नागोया – गल्कोट समाज जापान क्षेत्रीय समिति नागोयाले नागोयामा आयोजना गरेको तेस्रो मैत्रीपूर्ण खुल्ला पुरुष भलिबल प्रतियोगितामा आयोजकले नै पहिलो स्थान प्राप्त गरेको छ । जापानभरबाट १० टिम सहभागी उक्त प्रतियोगितामा गल्कोट स्पोर्ट्स क्लबले द्वितीय स्थान हासिल गरेको हो ।

गल्कोट समाज नागोयाको ए टिम र तल्लो लमाईं समाज जापानले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भए । प्रतियोगिता पछि पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा अन्तर्राष्ट्रिय किक बक्सिङ पूर्व खेलाडी तथा प्रशिक्षक देव घिमिरे साथै अन्तर्राष्ट्रिय किक बक्सिङ खेलाडी अविरल घिमिरे र जापानमा सामाजिक कार्यमा क्रियाशील दीपक कार्कीलाई गल्कोट समाज, नागोयाका तर्फबाट विशेष सम्मान गरिएको छ ।

घिमिरेको प्रशिक्षणमा जापानमा भएका कयौँ प्रतिस्पर्धामा उनका छोरा अविरल घिमिरेले विजय हुँदै नेपाल र नेपाली चिनाउन अह्रम भूमिका खेलेका छन् । त्यस्तै सम्मानित दीपक कार्की जापानमा दुःख पिरमा परेका नेपालीहरूलाई उद्धार कार्यमा क्रियाशील व्यक्ति हुन् । उनी एनआरएनए आइसिसी सदस्य समेत रहेका छन् ।

उक्त भलिबल प्रतियोगिता सम्पन्न गरी बचत रकमबाट बागलुङ जिल्लाको गल्कोटमा अवस्थित घुम्टे पहाडमा धार्मिक तथा पर्यटकीय दुवै दृष्टिकोणबाट चर्चित रही विशेषतः हिन्दु धर्मावलम्बीहरूले त्यस ठाउँमा शिवको पूजा आराधना गर्ने भएकोले शिव मूर्ति स्थापना गरिने गल्कोट समाज जापान, नागोयाका क्षेत्रीय अध्यक्ष रामु थापा काजीले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई तीन लाख दुई हजार दुई सय बाइस येन नगद प्रमाण पत्र,मेडल र रनिंग कप तथा द्वितीय १ लाख बहत्तर हजार दुई सय बाइस येन नगद, प्रमाण पत्र,मेडल साथै सान्त्वना पुरस्कार स्वरूप दुई टिमलाई पचास हजार येन नगद व्यवस्था गरिएको थियो ।

प्रतियोगितामा सहभागी पाँच छुट्टाछुट्टै विधाका उत्कृष्ट खेलाडीलाई नगद र ट्रफी द्वारा सम्मान गरिएको थियो । जस अन्तरगत वेस्ट प्लेयरलाई १० हजार येन नगद र ट्रफी, वेस्ट स्पाईकर ५ हजार येन नगद र ट्रफी, वेस्ट ब्लकरलाई ५ हजार येन नगद र ट्रफी, वेस्ट डिफेन्सरलाई ५ हजार येन नगद र ट्रफी वेस्ट सटरलाई येन नगद र ट्रफी पाएका थिए ।

पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा गल्कोट समाज जापानका केन्द्रीय अध्यक्ष यम खत्री, समाजका संरक्षक मोहन खत्री, सल्लाहकार पदम मल्ल, भवानी पन्त, एनआरएनए एसिया प्यासिफिक संयोजक पारसमणि पोख्रेल, एनआरएनए आइसिसी सदस्य दीपक कार्कीलगायतले खेल र खेलाडीको महत्त्वबारे चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया