काठमाडौँ — बलिउडका चर्चित गायक कृष्णकुमार कुन्नथको मंगलबार राति कोलकातामा निधन भएको छ । उनी ५३ वर्षका थिए । स्टेजमा ‘केके’ का नामले परिचित उनी मंगलबार कोलकाताको एउटा कलेजको कार्यक्रममा प्रस्तुति दिने क्रममा नै बिरामी भएका थिए ।
मंगलबार राति कोलकाता अडिटोरियमको नजरुल मञ्चमा प्रस्तुति दिँदै केके, जुन प्रस्तुति उनको जीवनकै अन्तिम बन्न पुग्यो ।
भारतीय सञ्चारमाध्यमका अनुसार कन्सर्टलगत्तै उनी होटेल फर्किएका थिए । होटेलमा उनी ढलेको र लगत्तै अस्पताल लगिए पनि चिकित्सकले मृत घोषित गरेको बीबीसी हिन्दीले जनाएको छ ।
अस्पताल पुगेका पश्चिम बंगाल सरकारका ऊर्जामन्त्री अरुप विश्वासका अनुसार चिकित्सकहरूले केकेको निधन हृदयघातबाट भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन् ।
तमिल, तेलुगु, कन्नड, मराठी, बांग्ला र गुजराती चलचित्रमा थुप्रै गीत गाएका केके कोलकातास्थित गुरुदास कलेजको कार्यक्रममा भाग लिन आएका थिए । निधनभन्दा अगाडि उनको इन्स्टाग्राम पेजमा कोलकाता अडिटोरियममा आयोजित कन्सर्टका भिडियो र तस्बिर पोस्ट भएका छन् ।
सन् १९९६ बाट गायनमा करिअर सुरु गरेका उनको पहिलो एल्बम ‘पल’ सन् १९९९ मा सार्वजनिक भएको थियो । चलचित्रमा भने सलमान खान, ऐश्वर्या राय र अजय देवगन अभिनित ‘हम दिल दे चुके सनम’ बाट गायन यात्रा सुरु गरेका थिए । ‘तडप तडप’ बाट आफूलाई अब्बल गायका रूपमा सावित गरेका केकेले त्यसपछि भने पछाडि फर्केर हेर्नु परेन ।
केकेका चर्चित १० गीत
१. तु जो मिला – बजरंगी भाइजान
२.अजब सी – ओम शान्ति ओम
३.क्या मुझे प्यार है – वो लम्हे
४. हमको प्यार हुवा – रेडी
५.पल – पल एल्बम
६.दिल क्यों येह मेरा – काइट्स
७. लबों को – भूल भुलैया
८.बीते लम्हें – द ट्रेन
९.तडप तडप – हम दिल दे चुके सनम
१०.दस बहाने – दस