आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – अभिनेता विल स्मिथले ओस्कर्स पुरस्कार वितरण समारोहमा आफूले प्रस्तोता क्रिस रकलाई थप्पड हानेको व्यवहार अस्वीकार्य र अक्षम्य भएको भन्दै माफी मागेका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘क्रिस​, म तिमीसँग सार्वजनिक रूपमा माफी माग्न चाहन्छु । मैले सीमा नाघेर व्यवहार गरेँ र म गलत थिएँ । ​ओस्कर्स फिल्म एकेडेमीले स्मिथको भर्त्सना र घटनाबारे औपचारिक समीक्षाको घोषणा गरेपछि उनले माफी मागेका हुन् ।

हास्य कलाकार क्रिस​ले आफ्नी श्रीमती जाडा पिङ्केट स्मिथको मुडुलो टाउकोमाथि ठट्टा गरेपछि चर्चित अभिनेता स्मिथले उनको गालामा थप्पड हानेका थिए ।​ क्रिस​ले पिङ्केट स्मिथको कपाल झर्ने समस्या, एलोपेसियाको कारण मुडुलो बनाएको टाउकोप्रति लक्षित ठट्टा गरेका थिए । उनले भनेका थिए, ‘आई लभ यु जाडा । म जीआई जेन २ को प्रतीक्षामा छु ।’

जीआई जेन सन् १९९७ को हलिउड फिल्म हो जसकी प्रमुख नायिकाले शिर मुण्डन गरेकी थिइन् । घटनाको केही क्षणपछि अभिनेता स्मिथले किङ रिचर्ड नामक चलचित्रमा ख्यातिप्राप्त टेनिस खेलाडीहरू भिनस र सेरेना विलियम्सको बुबाको भूमिका निर्वाह गरेकोमा ओस्कर पुरस्कार जितेका थिए ।

‘हिंसाको हरेक स्वरूप विषाक्त र विनाशकारी हुन्छ,’ स्मिथले इन्स्टाग्राममार्फत सार्वजनिक गरेको विज्ञप्तिमा लेखिएको छ । ‘गतराति एकेडेमी अवार्डमा मैले गरेको व्यवहार अस्वीकार्य र अक्षम्य छ । ममाथि हुने ठट्टाहरू मेरो कामको एउटा अंश हो तर जाडाको स्वास्थ्य अवस्थाप्रति गरिएको ठट्टा असह्य थियो र मैले भावनात्मक रूपमा प्रतिक्रिया जनाएँ,’ उनले लेखेका छन् ।

उनले एकेडेमी र विलियम्स परिवारसँग पनि माफी मागेका छन् । क्रिश रक स्वयंले दर्शकलाई सम्बोधन गर्दै उक्त घटना ‘टेलिभिजनको इतिहासको अविस्मरणीय रात भएको’ टिप्पणी गरेका थिए । लस एन्जलस प्रहरी विभागले भेराइटी म्यागजिनलाई रकले घटनाबारे ‘प्रहरीमा उजुरी दिन अस्वीकार’ गरेको बताएको थियो ।

लस एन्जलसस्थित मनोरञ्जन संवाददाता स्टिभन म्याकन्टसले विल स्मिथको बयान अत्यन्त सावधानीपूर्वक लेखिएको जनाएका छन् । उनी आफ्नो भाषाबारे निकै होसियार रहेर कुनै बहाना नबनाई आफ्नो प्रतिक्रियाबारे प्रस्ट्याएका छन् ।

तर, उनको क्षमा याचनाले घटनाक्रमको अन्त्य नहुने म्याकन्टसले जनाएका छन् । उनका अनुसार रकले सार्वजनिक रूपमै प्रतिक्रिया जनाउनुपर्नेछ । केहीले उनको ओस्कर अवार्ड खारेज हुन सक्ने बताए पनि अब त्यसो गर्न सम्भव नभएको उल्लेख गरिएको छ ।

उनको एकेडेमी सदस्यता निलम्बन हुनेजस्ता प्रतिबन्ध लाग्न सक्थ्यो । तर, उनको याचनापछि त्यो सम्भावना पनि कम छ । -बीबीसी

तपाईको प्रतिक्रिया